रवि लामिछानेले पर्सि नागरिकता देखाउनैपर्ने
नागरिकता र राहदानी विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्सि दिउँसो नयाँ बानेश्वरमा आफ्नो नेपाली नागरिकता देखाउनैपर्ने भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार संघीय संसद,प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन जाँदा अनिवार्य रुपमा अन्य माननीयले झैँ उनले पनि नागरिकताको प्रतिलिपि लैजानुपर्ने भएको हो ।
‘प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई गराउनुहुने शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालैको पासपोर्ट साइजको फोटो दुई प्रति सहित दुई घण्टाअगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु,’ संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम आजसम्म संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने छ ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा ९१ को उपधारा (५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम संघीय संसद,प्रतिनिधि सभाको अध्यक्षता गर्ने माननीय ज्येष्ठ सदस्यले पर्सि बिहीबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक कक्ष, नयाँ बानेश्वरमा शपथ गराउने कार्यक्रम छ ।
टिप्पणीहरू