देशभरबाट एक नम्बर ठहरिएको जिल्लामा दिग्विजय सम्मानित

देशभरबाट एक नम्बर ठहरिएको जिल्लामा दिग्विजय सम्मानित

सशस्त्र प्रहरी बल,नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीको नवौं स्थापना दिवस मनाइएको छ ।  विविध कार्यक्रमको आयोजनासहित आज उक्त दिवस मनाइएको हो । नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय,चन्द्रौटा कपिलवस्तुका सहायक बाहिनीपति,वरिष्ठ उपरिक्षक दिग्विजय सुवेदीले स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा सुवेदीले विपद व्यवस्थापन तथा उद्वार कार्यमा गुल्मीको गुल्म हेडक्वार्टरबाट महत्वपूर्ण भूमिका निर्वाह भएको उल्लेख गर्नुभएको छ । सशस्त्र प्रहरी बल गुल्मीको गुल्मपतिसमेत भएर काम गरिसक्नुभएका सुवेदीले भन्नुभयो, ‘यसले ठूला दंगा व्यवस्थापनसँगै जिल्लाका विभिन्न स्थानमा भएका दैवी प्रकोप तथा विपत्तिका घटनामा मानवीय सुरक्षाका लागि विशेष योगदान गरेको छ ।’

यसअघि मुलुकभरका गुल्महरुमध्ये गुल्मी एक नम्बरमा परेको पनि उहाँले स्मरण गराउनुभएको थियो । बाहिनीको निरीक्षणमा अहिले पनि उक्त गुल्म लुम्बिनी प्रदेशका छ वटा गुल्ममध्ये एक नम्बरमा रहेको उहाँको भनाइ छ । 

सशस्त्र प्रहरी बल,नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीका गुल्मपति नायव उपरीक्षक नवीनकुमार खड्काले आफ्नो गुल्मको गरिमालाई कायम राख्ने प्रतिबद्धता जनाउनुभएको छ । 

सो अवसरमा पूर्व गुल्मपतिलाई सम्मान गरिएको थियो । उत्कृष्ट कार्य सम्पादन गर्ने नायव निरीक्षक ध्रुवप्रसाद भुसाल,सशस्त्र प्रहरी सहायक हवल्दार बसन्तबहादुर बस्नेत र योगेन्द्र पोखरेललाई कदरपत्र तथा पुरस्कार र भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

गुल्मी जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायत सबै क्षेत्रको उपस्थिति रहेको स्थापना दिवसमा विभिन्न खेलकुद प्रतियोगितासमेत गराइएको  थियो । 

सो अवसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा नायव निरीक्षक अर्जुन थापा र सहायक हवल्दार टेकप्रसाद बुढा, ब्याडमिन्टन प्रतियोगितामा वरिष्ठ हवल्दार छब्बा थारु र जवान महेन्द्र थापा प्रथम भएको जानकारी दिइएको छ ।

म्युजिकल चियर प्रतियोगितामा जवान प्रविना मल्ल,टेबुल टेनिस मा जवान ढालबहादुर खत्री क्षेत्री,बोरा दौडमा जवान नवीन श्रीस,घैँटो फोड प्रतियोगितामा सशस्त्र प्रहरी परिचर पूर्णबहादुर थापा प्रथम भएका हुन् ।  स्थापना दिवसका अवसरमा रेसुङ्गा नगरपालिका १२ घोर्लेस्थित भगवती मन्दिर परिसरको सरसफाईसमेत गरिएको थियो ।

टिप्पणीहरू