मन्त्री चौधरीले बञ्चरे डाँडाबासीलाई अन्याय हुन नदिने
शहरी विकासमन्त्री मेटमणि चाधरीले बञ्चरे डाँडाका जनतामाथि अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राजधानी उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरे डाँडाको स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले उक्त धारणा राख्नुभएको हो ।
‘यत्रो फोहोर जम्मा भइराछ, गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पूरा हुने चरणमा पनि छन्,’ उहाँले भन्नुु भयो । पहुँच भएकाहरुले बञ्चरे डाँडाबाट लाभ लिइरहेको उहाँको बुझाइ छ ।
तर स्थानीय गरिब, सोझा मान्छेहरु मारमा परेको मन्त्रीको भनाइ छ । मन्त्री चौधरीले थप्नुभयो, ‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन् । त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस् । तपाईंहरुमाथि सरकारले अन्याय हुन दिँदैन ।’
शहरी विकास तथा भवन निर्माण विभाग, बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इञ्जिनियर माधव कटुवालका अनुसार बञ्चरे डाँडाको काम दुई चरणमा गरिएको छ । ‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्धारलगायत निर्माण कार्य थिए । पहिलो चरणलाई सेल–१ र सेल–२ गरि दुई भागमा विभाजन गरिएको थियो । सेल–१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ,’ कटुवालको भनाइ छ ।
दोस्रो चरणअन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरि शतप्रतिशत काम सम्पन्न भइसकेको छ । तिनपिप्लेदेखि बञ्चरे डाँडा जाने मुख्य ढुवानी मार्गको मर्मत कार्य अन्तिम चरणमा रहेको पनि बताइएको छ । यसका साथै मन्त्रालयले फोहोर मैला ढुवानीका लागि छुट्टै र छोटो दूरीको बैकल्पिक मार्गको डिपिआर सम्पन्न गरि ठेक्का दिन लागिएको हो ।
पहिलो चरण र दोस्रो चरणको सम्झौताअनुसार क्रमशः ४४ करोड १३ लाख ४ हजार २२४ र ४९ करोड २५ लाख ६० हजार ३०५ बजेट रहेको पनि जानकारी दिइएको छ ।
टिप्पणीहरू