सेनाकाे घडेरीभित्र तोपका सैयौँ गोला
पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका–४, गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार ती तत्कालीन बाइसे,चौबिसे राज्य एकीकरणको समयताकाका गोला हुन् । सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो ।
अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननको क्रममा अझ धेरै भेटिनसक्ने श्रेष्ठको भनाइ छ । गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेष्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।
फेला परेका गोलाको सुरक्षित व्यवस्थापनको निम्ति पाल्पास्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । ती गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको पाल्पा प्रहरीले जनाएको छ ।
टिप्पणीहरू