भारतीय नौसेनामा विशाल युध्दपोत थपियो
भारतीय नौसेनाले युध्दपोत आईएनएस मोर्मुगाओ पनि समावेश गरेको छ । आइतबारदेखि उक्त युध्दपोतलाई नौसेनामा समावेश गरिएको हो ।
भारतीय नौसेना थप बलियो भएको तर्क गर्दै रक्षा मन्त्रालयले भनेको छ, ‘यो युध्दपोतले भारततर्फ प्रहार हुने कुनै पनि खालका क्षेप्यास्त्रहरूलाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’ लगभग स्वदेशी प्रविधिमा बनेको उक्त युध्दपोतको उद्घाटन रक्षामन्त्री राजनाथ सिंहले गरेका हुन् ।
नयाँ युध्दपोत १६३ मीटर लामो छ । जहाज निर्माणमा प्रयोग भएका सामग्रीको ७५ प्रतिशत भारतीय भूमिमा उत्पादन भएको बताइएको छ । विभिन्न प्रकारका क्षेप्यास्त्र बोक्ने उक्त युध्दपोतमा अन्यत्रबाट प्रहार गरिएका क्षेप्यास्त्रलाई रोक्न सक्ने अद्भूत क्षमता रहेको दावी गरिएको छ । आईएनएस मोर्मुगाओले अधिकतम ७ हजार ४ सय टन तौल बोक्न सक्छ ।
भारतीय रक्षामन्त्रीका अनुसार उक्त युध्दपोत विश्वको सबैभन्दा शक्तिशाली मिसाइल बोक्ने जहाज हो । यो जहाजलाई मिसाइलका साथै युध्दपोतको रुपमा समेत प्रयोग गर्न सकिने छ ।
युध्दपोतको निर्माण सेप्टेम्बर २०१६ मा शुरु भएको हो । निर्माण थालिएको ६ वर्षपछि जहाज नौसेनाले प्रयोग गर्न थालेको छ ।
टिप्पणीहरू