यसरी बन्नेछ मिलिजुली सरकार
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि सात दिनको समय दिनुभएको छ । मत परिणामअनुसार संविधानको धारा ७६ (१) बमोजिम कुनै एउटा पार्टीले बहुमतको सकार बनाउन सक्ने अवस्था नदेखिएकाले उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न पुस १० गते सम्मको समय दिइएको हो ।
अब प्रतिनिधि सभाको बैठकबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ । बहुमत पु¥याउन सक्ने दलका नेताले दाबी गरेपछि चित्तबुझ्दो प्रमाण मूल्यांकन गरेर संवैधानिक प्रक्रियाअनुसार बल्ल निश्कर्ष निस्किनेछन् ।
संसदमा कसैको पनि एकल बहुमत नपुगेका कारण अब मिलिजुली संयुक्त सरकार नै पहिलो विकल्प बन्न पुगेको छ । यसरी नियुक्त हुने प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ । यदि, संयुक्त सरकारका लागि पनि बहुमत पु¥याउन सक्ने अवस्था भएन भने मात्र ७६ (३) अनुसार ठूलो दलको हैसियतमा कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने प्रक्रियामा राजनीतिक ‘कोर्स’ अघि बढ्ने हो तर यो सम्भावना अहिले देखिँदैन । सरकार गठनअघि निर्वाचित नयाँ दलले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया हुन्छ ।
प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा मात्र राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने विकल्प हो । यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुुपर्नेछ । सरकार गठनपश्चात् मात्र संसदीय प्रक्रियाअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख चयन प्रक्रियामा जान्छ । अहिलेको अंकगणित अनुसार सहमतिमा हालकै सत्ता गठबन्धनमा सामेल दल संलग्न सरकार गठन गर्दा सुविधाजनक बहुमत पुग्ने अवस्था छ ।
प्रतिनिधि सभामा यस्तो छ अंकगणित :
निर्वाचन परिणामअनुसार प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ । उसैले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट ल्याएको छ । दोस्रो ठूलो दल नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट ल्याएर दोस्रो दल बनेको छ । प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको छ । यस्तै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिटसहित चौथो ठूलो दल बनेको छ । प्रत्यक्ष र समानुपातिकमा समान सात–सात सिट जितेको राप्रपा १४ सिटसहित पाँचौँ दल हो भने प्रत्यक्षमा सात र समानुपातिकमा पाँच सिट पाएको जसपा १२ सिटसहित छैटौँ दल बन्न पुगेको छ । थ्रेसहोल्डका कारण समानुपातिकका सिट गुमाएको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट पाएको छ ।
यता, जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ पाँच गरी ६ सिट जितेको छ । थ्रेसहोल्ड कटाउन नसकेका दलहरू लोसपाले प्रत्यक्षमा चार, नागरिक उन्मुक्ति पार्टीले तीन र राष्ट्रिय जनमोर्चाले १ तथा नेमकिपाले १ सिट जितेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका ५ जना प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
टिप्पणीहरू