छातीमा हात राखेर सोच्न गगन थापाको आग्रह

छातीमा हात राखेर सोच्न गगन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्ना नेता तथा सांसदहरुलाई विवेकसम्मत निर्णय लिन आग्रह गरेका छन् । संसदीय दलको निर्वाचनअघि गरिएको अपिलमा आजको निर्वाचनले देश,जनता र पार्टी भविष्यको दिशा निर्देश गर्ने उल्लेख छ । 

‘भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र,संविधान र भावी सन्तानको लागि नेपाली काँग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।

राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा भएको थापाको भनाइ छ । त्यसैले सरकारको नेतृत्व,सोच,नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्ने उनले प्रतिबद्धता पनि जनाएका छन् ।

अगाडि भनेका छन्, ‘सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता,भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखी युगानुकूल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

टिप्पणीहरू