गगनलाई आफ्नैले दिएनन् भोट, देउवालाई ७२ प्रतिशत
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । पार्टीका महामन्त्रीसमेत रहेका प्रतिष्पर्धी गगन थापालाई भारी मतले पराजित गर्दै उहाँले जित्नुभएको हो ।
८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत पाउँदा प्रतिस्पर्धी थापाले जम्मा २५ मत पाउनुभयो । देउवाले झन्डै ७२ प्रतिशत सांसदको समर्थन पाउँदा थापालाई २८ प्रतिशत मत आएको हो ।
दलको नेता छान्न भएको गोप्य मतदानमा थापाले आफ्नो समूहको समेत भोट पाएनन् । यसअघि संस्थापन समूहसँग ५५ र शेखर-गगन गुटमा ३४ सांसद रहेको बताइएको थियो । जसमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल पनि थापाको पक्षमा खुलेका थिए । त्यस्तै, शशांक कोइराला खेमाका दिपक गिरीको समर्थन पनि रहेकाले थापाले कम्तिमा पनि ४० मत पाउने सो समूहको आंकलन थियो ।
संस्थापनकै कतिपय युवा सांसदले आफूलाई भोट दिने अपेक्षासहित हौसिएका गगनले आफ्नै समूहको समेत मत पाउन नसकेको निर्वाचनको परिणामले देखाएको छ । पराजयपछि पहिलो प्रतिक्रिया दिँदै उनले परिणाम अपेक्षित नरहेको बताए ।
टिप्पणीहरू