शिक्षक मारिएकोमा नगरपालिकामा तालाबन्दी

शिक्षक मारिएकोमा नगरपालिकामा तालाबन्दी

हत्यारालाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ ।

केही दिनअघि नगरपालिकाको वडा नम्बर ६ मा रहेको कृष्ण माध्यामिक विद्यालयको छात्रावास पछाडि शिक्षक धनबहादुर बिस्टको शव फेला परेको थियो । उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका स्थानीयबासी तथा सरोकारवालाहरुले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

मृत अवस्थामा फेला परेका शिक्षक बिस्टको हत्या भएको पाँच दिन बितिसक्दा पनि अनुसन्धान तथा छानबिन नभएको उनीहरुको आरोप छ । त्यसैले, घटनाको छानबिन गरी आरोपितलाई पक्राउ गर्न माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।

नगरका एक अधिकृतले बिहान लगभग साढे १० बजेदेखि नगर कार्यालयमा तालाबन्दी गरिएको बताए । उनले भने,‘स्थानीयबासीलगायत विभिन्न संघसंगठनले कार्यालयमा तालाबन्दी गर्दै दशरथचन्द्र राजमार्ग बन्द गरेका हुन् ।'

अहिलेपनि नगरपालिकाको कार्यालयमा तालाबन्दी नै रहेको उनले जानकारी दिए ।

टिप्पणीहरू