शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच भलाकुसारी
राष्ट्रपति कार्यालय शीतल निवासमा तीन कम्युनिष्ट नेताबीच भलाकुसारी भएको छ । सार्वजनिक मञ्चबाट एकले अर्कालाई ’धारेहात’ लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच शीतल निवास परिसरमा कुराकानी भएको हो ।
तत्कालीन नेकपा विभाजनपछि नदीका दुई किनारजस्तै भएका नेताहरुबीच भेटको संयोग प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रमले जुराएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका हुन् ।
ओली, प्रचण्ड र खनाल एकै लहरका तीनवटा कुर्सीमा बसेको बेलामा आपसी संवाद भएको हो । एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनजनाबीच कुराकानी भएको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक यसरी छलफल भएको हो ।
टिप्पणीहरू