सत्यको जीत कि भ्रष्टाचारको जय ?

सत्यको जीत कि भ्रष्टाचारको जय ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गर्दै विशेष अदालतमा दायर गरिएको मुद्दामा आरोपितले उन्मुक्ति पाएका छन् । आमनिर्वाचनको लामो तयारी र नयाँ सरकारको गठन प्रक्रियाबीच अदालतले एक जना सरकारी कर्मचारीलाई भ्रष्टाचारको आरोपबाट उन्मुक्ति दिएको बताइएको छ ।

भ्रष्टाचारको धेरै आरोप लाग्ने गरेको भन्सारमा कार्यरत तत्कालीन उपसचिवलाई अदालतले उन्मुक्ति दिएपछि सर्वसाधारण र कर्मचारीहरुले समेत प्रश्न चिन्ह तेर्साएका छन् । ठूलै काण्ड लागेका भन्सारका उपसचिव कृष्ण बस्नेतले अहिले क्लिन चिट पाएका हुन् ।

तीन वर्षअघि उपसचिव बस्नेतमाथि पदीय जिम्मेवारीको दुरुपयोग गरेर १० करोड ५६ लाख भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनले तातोपानी भन्सारमा प्रमुख छँदा उक्त रकम तलमाथि गरेको आयोगको अनुसन्धानबाट खुलेको हो । 

भ्रष्टाचारबाट प्राप्त अकुत सम्पत्ति उनले जेठान,उनकी श्रीमती र जेठानको छोराको नाममा राखेका थिए । संखुवासभाको षडानन्द नगरपालिका स्थायी घर भएका बस्नेतले आफ्ना जेठान नवीन गौली, बहिनी शकुन्तला गौली, उनीहरुका छोरा सुलभ र बस्नेतकी श्रीमती सविता गौली बस्नेतको नाममा रकम परिचालन गरेको भन्दै आयोगले उनीहरुलाई समेत विपक्षी बनाएको थियो ।

उनी पछिल्लो समय गौलीहरुको घर नजिकै काठमाडौंको धुम्बाराहीमा बस्थे । आयोगले सन् १९८९ मा सरकारी सेवामा प्रवेश गरेका बस्नेतले कूल १ करोड ७८ लाख कमाएका थिए भने ३ करोड १३ लाख खर्च गरेको हिसाब निक्लिएको थियो । त्यसमध्ये १ करोड ३५ लाखलाई आयोगले अवैध आम्दानी ठहर्याएको हो ।

कूल १ करोड ७८ लाख कमाएका थिए भने ३ करोड १३ लाख खर्च गरेको हिसाब निक्लिएको थियो ।

बस्नेतले व्यापारीहरुसँग अनुचित लाभको रुपमा रकम उठाएको र त्यस्तो रकम जेठान र परिवारको नाममा रहेका बैंक खातामा जम्मा गरेको पनि आयोगले प्रमाणसहित पेश गरेको थियो । गौली पनि खाँदबारीका स्थानीय व्यवसायी हुन् । उनी नेपाली काँग्रेससँग नजिक छन् ।

आयोगको अनुसन्धान र छानबिनबाट गौलीको खातामा बस्नेतले पटक पटक गरेर ९ करोड २१ लाख ५२ हजार ७९२ रुपैयाँ जम्मा गरेको समेत फेला परेको थियो । उक्त रकमलाई गौलीले विभिन्न स्थानको जग्गा खरिदमा प्रयोग गरेका थिए । पछि बहिनी ज्वाईं बस्नेत र बहिनीलाई गौलीले ती जग्गा उपहारको रुपमा दिएको समेत अनुसन्धानबाट खुलेको थियो ।

गौलीको खाँदबारीमा होटल आरती छ । स्थानीय हिसाबले नाम चलेको होटलको नाममा अहिले धेरै रकम खर्चेर ठूलो होटल बनाउँदै गरेको बताइन्छ । अहिले उनै बस्नेतले मुद्दा जितेको खुशीयालीमा सामाजिक सञ्जालमा फूलमाला लगाएको फोटो सेयर गरिएको छ । 

बस्नेतले आजभन्दा २५ वर्षअघि २०५४ सालमा गौलीकी बहिनी विवाह गरेका हुन् । त्यतिबेलासम्म उनी र उनको परिवारको आर्थिक हैसियत सामान्य नै रहेको स्थानीयको भनाइ छ । तर पछिल्ला दिनमा उनको धुम्बाराही एरियामा आलिशान घर र धेरै ठाउँमा जग्गा भेटिएको हो ।

ज्वाईंले भ्रष्टाचार गरेको रकम ससुराली खलकको खातामा पठाइएको र त्यसको विभिन्न ठाउँमा प्रयोग भएको पाइए पनि विशेष अदालतबाट गुपचुप मुद्दा जिताइएको छ । यतिखेर विराटनगरका नवल उपाध्यायलेसमेत त्यससम्बन्धी फोटो हालेर सांकेतिक रुपमा सत्यको जीत भएको सन्देश दिएका छन् । तर, बस्नेतको मुद्दामा सत्यको जीतभन्दा पनि पराजय भएको बताइन्छ ।

टिप्पणीहरू