गैरपत्रकारलाई महासंघको सदस्यता, केन्द्रमा बाँडेर जिल्लामा स्थानान्तरण

गैरपत्रकारलाई महासंघको सदस्यता, केन्द्रमा बाँडेर जिल्लामा स्थानान्तरण

कुनै पनि मिडियामा आबद्ध नरहेका गैरपत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्य बनाइएकोमा विभिन्न पत्रकार सम्बद्ध संस्थाले विरोध जनाएका छन् । गैरपत्रकारहरुलाई महासंघको सदस्यताबाट हटाउन उनीहरुले माग गरेका हुन् ।

प्रेस चौतारी कपिलवस्तु, प्रगतिशील पत्रकार संघ र समाजवादी प्रेस संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको विधानअनुसार सदस्यता मापदण्ड नपुगेकाको अभिलेख तत्काल खारेज गर्न भनेका छन् । 

‘कुनै मिडियामा आबद्ध नभएका, नेता पत्रकारका आसेपासे, श्रीमती, ससुरा, भाइ, भतिजा, पार्टी कार्यकर्ता, सरकारी कर्मचारीलगायत रहेकाले नेपाल पत्रकार महासंघको विधानअनुसार सदस्यता मापदण्ड नपुगेकाले अभिलेख राख्न नहुने माग गर्दै तत्काल खारेजीको जोडदार माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, महासंघको कपिलवस्तु शाखामा केन्द्रको हवाला दिँदै सदस्यता स्थानान्तरण गरिएको केन्द्रीय समितिको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 

भनिएको छ, ‘जिल्ला शाखा कब्जा गर्ने रणनीतिअनुरुप अधिकांश गैरपत्रकारलाई केन्द्रका मिडियाबाट सदस्यता वितरण गर्नु र तीनलाई जिल्ला शाखामा स्थानान्तरण गराइनु अत्यन्तै खेदजनक र निन्दनीय कार्य भएको हाम्रो ठहर छ ।’ 

महासंघमा आबद्ध नेतृत्वले दलगत स्वार्थअनुसार विधि र प्रक्रिया मिचेर सिधै केन्द्रबाट सदस्य दिने र जिल्ला स्थानान्तरण गर्ने कार्यप्रति आपत्ति प्रकट गरिएको छ । यसले सिंगो पत्रकारिता जगत नै बदनाम भएको उनीहरुको ठहर छ । 

‘नेपाल पत्रकार महासंघको २०७८ भाद्र २६ गते र २०७९ मंसिर २३ गतेको पत्रअनुसार जनसञ्चार प्रतिष्ठान, माउण्टेन टीभी प्रतिष्ठान र स्वतन्त्र समाचार सेवाबाट स्थानान्तरण गरिएका ती सदस्यहरू कुन मापदण्डको आधारमा समावेश गरी शाखामा अभिलेख राख्न पठाइएको हो ? यसको जवाफ केन्द्रीय समिति, प्रदेश समितिले तत्काल कपिलवस्तु शाखामा आधिकारिक जानकारी गराउन माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले सदस्य स्थानान्तरणको कार्य अघि नबढाउन केन्द्र र प्रदेश समितिलाई आग्रह गर्दै बलजफ्ती गरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।

टिप्पणीहरू