डल्लुमा खनालसँग प्रभुको मुलाकात
नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जितेका पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।
आज साँझ खनाल निवास डल्लु पुगेर साहले नेता खनाललाई भेटेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
हालै सम्पन्न निर्वाचनमा पराजित खनालले राष्ट्रपतिको आकांक्षा राखेका खबर बाहिरिएका छन् । एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रपतिको दावी गर्ने औपचारिक निर्णय गरिसकेको छ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल पनि आकांक्षी देखिएका छन् । त्यस्तै, माओवादी केन्द्रले डा. बाबुराम भट्टराईलाई अघि सार्ने तयारी गरेको छ ।
तर, गठबन्धनमा शक्ति बाँडफाँडबारे अहिलेसम्म औपचारिक छलफल शुरु भएको छैन । दुवै तहका सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद प्याकेजमै भागबण्डा मिलाउने गरि अनौपचारिक छलफल चलिरहेको बेलामा खनालले भेटघाटलाई तीब्रता दिएका छन् । त्यहि मेसोमा रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र जितेका साहलाई भेटेको अनुमान गरिएको छ ।
टिप्पणीहरू