जेलबाट छुटेलगत्तै हायातमा चार्ल्स शोभराजको ‘बिहे भोज'

जेलबाट छुटेलगत्तै हायातमा चार्ल्स शोभराजको ‘बिहे भोज'

सर्वोच्च अदालतको हिजोको आदेशपछि जेलमुक्त हुन लागेका कुख्यात सिरियल किलर फ्रेन्च नागरिक चार्ल्स शोभराजले यो साता प्रीतिभोजको आयोजना गर्ने भएका छन् । सम्भवतः आज अपरान्ह जेलबाट छुटेपछि उनी सोझै बौद्धस्थित होटल हायातमा बस्ने तयारी छ ।

वि.सं. २०३२ सालमा भक्तपुरमा एक जना अमेरिकी र एक जना क्यानाडेली महिलाको हत्यामा संलग्न भएको आरोप पुष्टि भएपछि उनी जेल पुगेका हुन् । विगतमा नेपाल बाहिर रहेका उनी २०६० सालमा काठमाडौं आएलगत्तै प्रहरीले क्यासिनोबाट पक्राउ गरेर केन्द्रीय कारागार पुर्याएको थियो ।

७९ वर्षे शोभराजले १३ वर्षअघि जेलमा छँदै कानुन व्यवसायी शकुन्तलाकी छोरी २० वर्षे निहिता विश्वाससँग विवाह गरेका थिए । सोही विवाहको उपलक्ष्यमा यो साता उनले हायातमा भव्य प्रीतिभोजको आयोजना गर्न लागेको बताइएको छ ।

केही दिनको होटल बसाई र भोजपछि स्वास्थ्य परीक्षण गरेर उनी स्वदेश फर्कने छन् । सबै व्यवस्थापन गरेपछि ‘ज्वाईं साहेब’ फ्रान्स फर्किने सासू तथा अधिवक्ता शकुन्तलाले बताइन् ।

आज जेलबाट छुटेपछि भोजमा बोलाइने निम्तालुहरुको सूची तयार पार्न उनी व्यस्त रहने बताइएको छ । शोभराज अदालतको आदेशपछि नौ महिना अगावै जेलमुक्त हुन लागेका हुन् ।

टिप्पणीहरू