बालुवाटारमा सेनापति,खुमलटारमा माओवादी
नयाँ सरकार गठनको व्यापक प्रयाससँगै राजनीतिक दलका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा हिजो बिहान संसदीय दलको नेतामा चयन हुनुभएपछि बालुवाटारमा उक्त क्रम झन बढेको छ ।
उता प्रधानमन्त्रीमा दावेदारी गर्दै आउनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि नेताहरुले निरन्तर भेटघाट गरिरहनुभएको छ । हिजो साँझ प्रधानसेनापति प्रभुराम शर्मा बालुवाटार पुग्नुभएको थियो ।
बेलुकी साढे ६ बजेदेखि झण्डै आधा घण्टा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेपछि उहाँ बालुवाटारबाट बाहिरिनुभएको बताइन्छ । त्यसअघि दिनभर प्रधानमन्त्री विभिन्न भेटघाटमा सहभागी हुनुभएको थियो । दिउँसो केहीबेर उहाँ शिक्षण अस्पताल महाराजगञ्ज पुगेर त्यहाँ भर्ना हुनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि स्वास्थ्य अवस्था र राजनीतिक घटनाक्रमबारे संक्षिप्त कुराकानी गर्नुभएको थियो ।
यता,ललितपुरको खुमलटारस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भेटवार्तालाई निरन्तरता दिनुभएको छ । उहाँले हिजो साँझ नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादवसँग केहीबेर कुराकानी गर्नुभएको थियो । उक्त पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र यादवसँग अध्यक्ष दाहालले नियमित रुपमा भेटघाट गर्दै आउनुभएको छ ।
आज पनि खुमलटारमा अध्यक्ष दाहालसँग भेटवार्ताको निम्ति जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पुग्नुभएको छ । उहाँसँगै माओवादी नेता लीलामणि पोख्रेलले अध्यक्षसँग साढे ८ बजेदेखि आधा घण्टा कुराकानी गर्नुभएको छ ।
त्यसैगरी माओवादी प्रवक्ता कृष्णबहादुर महरा र अध्यक्ष दाहालबीच आज बिहान पौने १० बजेदेखि भेटवार्ता शुरु भएको खुमलटार स्रोतले पुष्टि गरेको छ ।
टिप्पणीहरू