रेशम चौधरीका सांसद्ले थारु भाषामा शपथ खाने
‘टीकापुर काण्ड’ को प्रमुख योजनाकार भनी जेलमा थुनिएका रेशम चौधरीको रिहाइको प्रकिया अगाडि नबढाइएसम्म शपथसमेत नखाने अडान लिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद्ले अन्ततः शपथ ग्रहण गर्ने भएका छन् ।
पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले थारु भाषामा शपथ लिन लागेको जानकारी गराइन् । उनकाअनुसार पार्टीको केन्द्रीय कमिटीको बैठकले शपथ खाने निर्णय गरेको हो । उनले भनिन्,‘शपथ ग्रहण नगरेसम्म सांसदको औपचारिक मान्यता नपाइने भएकाले केन्द्रीय समितिको बैठक बसी शपथ खाने निर्णय लिएका हौं ।’
उनले जसरी भएपनि पार्टीका संरक्षक चौधरीसहित अन्यको रिहाइ गर्नुपर्ने आवाज संसद भवनसम्म पुर्याउने बताएकी छिन् । त्यस्तै, उनीहरुको रिहाइको माग गर्दै आज पनि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने केन्द्रीय अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
‘दिउँसो १ बजेदेखि शान्तिपूर्ण धर्ना बस्ने निर्णय गरिएको छ’,उनले भनिन्,‘शपथ ग्रहण कार्यक्रमले गर्दा अलिक ढिलो हुन सक्छ ।’
टिप्पणीहरू