रवि लामिछानेको शपथ रोक्न माग गर्दै सचिवालयमा उजुरी

रवि लामिछानेको शपथ रोक्न माग गर्दै सचिवालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ ग्रहण रोक्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका वरिष्ठ नेता युवराज सफलले प्रतिनिधिसभा सदस्यको हैसियतमा लामिछानेको शपथ ग्रहण रोक्न सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा र सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निवेदन दिएका हुन् । 

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको नागरिकता विवाद समाधान नभएकाले उनलाई शपथ ग्रहण गराउन नमिल्ने युवराजको भनाई छ । 

अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः प्राप्ति नगरी पूरानै नागरिकता पेश गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज घिमिरेलगायतले उजुरी दर्ता गरेकोमा सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको भन्दै उनले असन्तुष्टिसमेत जनाएका छन् । 

त्यस्तै, अमेरिकी नागरिक कायम भएको बखत झूठो विवरण पेश गरी नेपाली राहदानी लिएकोलगायत विषय समेटेर उजुरी दर्ता भएको पनि उनले स्मरण गराएका छन् । 

सचिवालयमा दर्ज गरिएको निवेदनमा भनिएको छ,‘गृह मन्त्रालयमा निजले पूरानो नागरिकता पुनः प्राप्ति नगरी प्रयोग गरेको, अमेरिकी नागरिक कायम भएकै बखत झूठो विवरण पेश गरी नेपाली राहदानी लिएकोलगायत विषय समेटी उजुरी दर्ता गरी नेपाल प्रहरीले यस विषयमा छानबिन गरिरहेको अवस्था छ ।’

साथै, गत मंसिर २८ गते लामिछानेको सांसद र पार्टीको सभापति दुवै पद खारेज गर्ने मागसहितको उजुरी परेको अवस्थामा त्यो विषय किनारा नलागेकाले शपथ ग्रहण गर्न रोक लगाउनुपर्ने निवेदनमा उल्लेख छ ।

आज दिउँसो साढे १ बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरुको शपथ हुँदैछ ।

टिप्पणीहरू