चार्ल्सलाई छाड्न भक्तपुरको पत्र कुर्दै जगन्नाथदेवल

चार्ल्सलाई छाड्न भक्तपुरको पत्र कुर्दै जगन्नाथदेवल

सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको आदेशसँगै कुख्यात अपराधी चार्ल्स शोभराजलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको छ । 

१९ वर्षदेखि कैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रान्सेली नागरिक चार्ल्सलाई उनकै मुलुक फ्रान्स फिर्ता पठाउन लागिएको हो । जिल्ला अदालत, भक्तपुरबाट पत्र आएपछि उनलाई अध्यागमनमा बुझाइने कारागार कार्यालय, जगन्नाथदेवलका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए । 

‘हालसम्म पत्र आएको छैन्, त्यही कुरेर बसेका छौं’, उनले भने,‘पत्र आउनेबित्तिकै प्रक्रिया पुर्याएर अध्यागमनलाई बुझाउँछौं ।’

दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई तत्काल कैदमुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो मुलुक फर्काउन आवश्यक व्यवस्था मिलाउन हिजो आदेश दिएको थियो । 

आदेशमा भनिएको छ, ‘यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरितको अवस्था देखिएको हुँदा निजलाई निरन्तर कैदमा राखी राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानूनप्रदत्त अधिकार अनुकूल देखिएन । बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ । अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन वा सो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ ।’

टिप्पणीहरू