कर्णालीका कर्मचारीलाई ‘प्रोत्साहन भत्ता’
स्थायी तथा करारमा कार्यरत कर्मचारीलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएको छ । गत मंसिर २१ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको बताइएको छ ।
स्थायी कर्मचारीलाई भत्ता दिँदा अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरुले पनि भत्ताको माग गरेपछि प्रदेश सरकारले उक्त निर्णय गरेको कर्णाली प्रदेश सरकारका उपसचिव कृष्णप्रसाद खरेलले बताए । उनले भने, ‘हाल मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको मात्र छ साउनदेखि कर्मचारीले प्रोत्साहन भत्ता पाउने छन् ।’
विभिन्न जिल्लामा दरबन्दीबमोजिम रहेका स्थायी तथा करार कर्मचारीलाई मासिक ४ देखि १० हजारसम्म प्रोत्साहन भत्ता दिइने उनले बताए । जसअनुसार सुर्खेतमा कार्यरत कर्मचारीले मासिक ४ हजार प्रोत्साहन भत्ता पाउने छन् । त्यस्तै सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीले ६ हजार, कालिकोट र जुम्लामा कार्यरत कर्मचारीले ८ हजार पाउने खरेलले जानकारी गराए ।
यता डोल्पा, मुगु र हुम्लामा कार्यरत कर्मचारीले मासिक १० हजार प्रोत्साहन भत्ता पाउने छन् ।
टिप्पणीहरू