शहीद परिवारलाई मासिक भत्ताको व्यवस्था
विभिन्न आन्दोलनमा शहीद भएकाको परिवारलाई सप्तरीको राजविराज नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको छ ।
शहीद परिवारलाई नगरपालिकाले मासिक पाँच हजार एक सय रुपैयाँ भत्ता उपलब्ध गराउन लागेको छ । चालु आर्थिक वर्ष २०७९–८० को नगरसभाको निर्णयानुसार त्यस्ता परिवारलाई जीवन निर्वाहको निम्ति मासिक सहयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
हाल शहीद परिवारको लगत संकलन कार्य भइरहेको नगरपालिकाको सूचना प्रविधि अधिकृत सुरेशकुमार यादवले बताए । अहिलेसम्म त्यस्ता पाँच परिवार नगरपालिकाको सम्पर्कमा आएको उनको भनाइ छ ।
सहयोग रकम बैंकमार्फत उपलब्ध गराइने बताइएको छ । नगरपालिकाले यसअघि नै शहीद परिवारलाई निवेदनको निम्ति आह्वान गरेको थियो ।
निवेदनका लागि शहीद प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाताप्रमाणित कागजात, वडा कार्यालयको सिफारिस, अन्य आवश्यक कागजात पेश गर्नुपर्नेछ ।
टिप्पणीहरू