तालिमको ब्यानरमा गम्भीर त्रुटी : ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी तालिम’
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले तालिमको ब्यानरमा गम्भीर प्रकृतिको गल्ती गरेपछि सर्वत्र विरोध भएको छ । केन्द्रले ब्यानरमा महत्वपूर्ण शब्द छुटाएपछि त्यसको गलत अर्थ लागेको हो । ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी तालिम’ उल्लेख गरेर ब्यानर छापिएपछि स्थानीयले विरोध जनाएका छन् ।
उक्त ब्यानर अहिले सामाजिक सञ्जालमा पनि भाइरल भएको छ । एक जनाले लेखेका छन्, ‘यो तालिम दिने जतिलाई ठीक पार्नुपर्छ नत्र गाह्रो हुन्छ ।’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘होइन नेपालमै के के देख्नुपरेको यो ?’
केन्द्रले ब्यानरमा ‘नियन्त्रण’ वा ‘विरोध’ भन्ने शब्द नै लेख्न बिर्सिएपछि सामाजिक सञ्जालमा उक्त विषय तातेको हो । त्यस्तै, केन्द्रले अर्को पनि त्रुटी गरेको बताइएको छ । ब्यानरमा आर्थिक सहयोग कञ्चनपुरको भीमदत्त नगरपालिको उल्लेख छ ।
तर, नगरपालिकाले उक्त विषयलाई नकारेको छ । उपप्रमुख नीलम लेखक जोशीले सो कार्यक्रमका लागि नगरपालिकाले कुनै सहयोग नगरेको स्पष्ट पारेकी छन् । ‘हामीले कार्यक्रमका लागि सहयोग गरेका छैनौं । ब्यानर देखेपछि मैले केन्द्रमा सम्पर्क गरेको थिएँ । केन्द्रले सच्चाइसकेको छ’, उनले भनिन् ।
त्यस्तै, नगरपालिकाको महिला शाखा प्रमुख कुन्ती लेखकले ब्यानरमा त्रुटी भएको स्वीकारेकी छन् । उनले ब्यानरमा त्रुटि भएको र हाल सच्चाइसकेको जानकारी पनि दिइन् । कार्यक्रममा नगरपालिकाले नभई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आर्थिक सहयोग गरेको उनको भनाइ छ ।
केन्द्रले ध्यान नदिँदा ब्यानर छपाईमा गम्भीर त्रुटी भएको उनको ठम्याइ छ । ‘केन्द्रले हतारमा ब्यानर छाप्न दियो होला अनि त्रुटि भयो’, उनले भनिन्, ‘कहिलेकाँही यस्तो हुन्छ ।’ केन्द्रले आयोजना गरेको तीन दिने कार्यक्रम हिजोदेखि सञ्चालित छ ।
टिप्पणीहरू