गगनको हारमा खोजियो शेखर कोइरालाको भूमिका
नेपाली कांग्रेसको आन्तरिक राजनीतिक समीकरणमा सभापति शेरबहादुर देउवा प्रभावशाली रहेको पुनः प्रमाणित भएको छ । सत्ता राजनीतिको केन्द्रमा आफूलाई स्थापित गराइराख्न र सबै प्रकारका हिसाब मिलाउन सिपालु देउवाले पार्टी संसदीय दलको नेता चयनका लागि भएको चुनावमा इतर खेमाको प्रतिबद्ध मतसमेत आफ्नो पक्षमा पर्न सफल देखिएपछि कांग्रेसमा उहाँको प्रभावको पुनर्पुष्टि भएको छ ।
संसदीय राजनीति आफैँमा गणितको खेल हो । जसले गणित मिलाउन सक्यो, सत्ताको जोडघटाउमा उही माथि पर्छ । संसदीय राजनीतिका चतुर खेलाडी देउवाले दलको निर्वाचनमा गणित मिलाउन जानेकै कारण छैठौँ पटक प्रधानमन्त्रीको कुर्सीमा उक्लने बाटो फराकिलो बनेको छ ।
हुन् त, संसदीय दलमा अंकगणित देउवाका लागि अनुकूल नै थियो । १४ औँ महाधिवेशनको पक्षधरताका आधारमा सांसदहरुको संख्या हेर्दा देउवा बलियो देखिए पनि इतर खेमा पनि धेरै कमजोर थिएन । प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी कांग्रेसका कूल ८९ संसदमध्ये देउवा पक्षमा खुलेका ५५ जना थिए । ३४ जना शेखर–गगन खेमाका थिए । तर, पार्टीभित्र र बाहिर पुस्तान्तरणको बहस चर्को रुपमा उठिरहेका बेला ७८ वर्षीय देउवालाई आफूभन्दा झण्डै आधा उमेरका महामन्त्री गगन थापाको चुनौती पन्छाउन कठिन हुन्सक्ने अनुमान धेरैले गरेका थिए ।
तर, परिणाम त्यसअनुसार आएन । देउवाले ६४ मत पाउँदा गगनको पक्षमा जम्मा २५ मत पर्यो । संसदीय दलको निर्वाचनअघिका विभिन्न छलफलमा सांसदहरुको उपस्थिति हेर्दा गगनले कम्तीमा ३४ र बढीमा ४० मत ल्याउने आकलन थियो । किनभने अघिल्लो दिन अनामनगरस्थित एक होटलमा बसेको शेखर–गगन समूहको बैठकमा ३८ जना सांसदको उपस्थिति रहेको बताइएको थियो । तर, गोप्य मतदान भएकाले विविध वाध्यतामा परेर संस्थापनतिर खुलेका सांसदहरुले पनि आफूलाई मत दिने अपेक्षा राखेका गगनले आफ्नै समूहको समेत मत जोगाउन सकेको देखिएन ।
आखिर शेखर–गगन खेमाले के कारण आफ्नै समूहको मत जोगाउन सकेन ? औपचारिकरुपमा चुनावी समीक्षा नभए पनि आफ्नैबाट धोका भएको गगन निकटहरुले प्रारम्भिक निष्कर्ष निकालिसकेका छन् । साथै बालुवाटारको प्रभावमा परेर कतिपय सांसदहरुले अन्तिम समयमा कित्ता परिवर्तन गरेको उनीहरुको बुझाइ छ । चुनावी परिणाम सार्वजनिक भएपछि पहिलो प्रतिक्रिया दिँदै गगनले पनि चलखेल भएको संकेत गरेका थिए । केही सांसदले मतपत्रको फोटो खिचेको र त्यसले चुनावको निष्पक्षता र निष्ठामाथि प्रश्न खडा गरेको उनको भनाइ थियो । गगनले परिणाम अपेक्षित नरहेको तत्काल बताएका थिए ।
तर, कांग्रेसमा कुनै पनि खेमामा नलागेका केही नेताले भने आफ्नै समूहको धोकाका कारण गगनले सोचेभन्दा कम भोट पाएको दावी गरेका छन् । सभापति देउवासँगको सहमतिमै शेखर कोइरालले अन्तिम समयमा गगनको उम्मेदवारी स्वीकार गरेको ती नेताको ठहर छ ।
‘खासमा सभापतिले आफ्ना प्रतिस्पर्धी गगनलाई होइन कोइराला परिवारलाई नै ठान्नुभएको छ । उनीहरुलाई मनाउन सके अरु सबै मिल्छ भन्ने उहाँको बुझाइ हो । मीनेन्द्रको टिकट सुजातालाई दिएर चुनावअघि नै उहाँले कोइराला परिवारलाई नजिक राख्नुभएको थियो । यसपटक शेखर पनि मिल्नुभयो’, ती नेताले भने । शेखर निकट नेताहरुले गगनलाई उचालेर अन्त्यमा देउवालाई भोट हालेको दावी गरेका उनले त्यसमा शेखरको भूमिका रहेको आशंका पनि गरे ।
संस्थापन इतर समूहबाट आफैँ दलको नेता दावी गरिरहेका शेखरले पटक–पटकको छलफलपछि अन्तिममा गगनलाई समर्थन गर्ने निर्णय गरेका थिए । पार्टीको आगामी १५ औँ महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्ने र समूहको नेता आफैं रहने सुनिश्चितता खोजेका उनले त्यसको प्रतिबद्धतापछि मात्रै गगनलाई छाडेको चर्चा छ । यसबारे थप जानकारी दिन अस्वीकार गरेका उनले समयक्रममा सबै खुल्दै जाने बताए ।
खैर, नेपालका राजनीतिक दलहरुमा कांग्रेस मात्रै यस्तो पार्टी हो, जसले आन्तरिक निर्वाचनलाई सहज रुपमा ग्रहण गरेको छ । संसदको दोस्रो र तेस्रो ठूलो दल एमाले र माओवादी केन्द्रले आ–आफ्ना अध्यक्षलाई निर्विरोध दलको नेता चयन गर्दा कांग्रेसले एउटा नेतालाई सर्वसम्मत गराएन । बहालवाला प्रधानमन्त्री तथा पार्टी सभापतिलाई चुनौती दिनु आफैँमा सामान्य ‘च्यालेन्ज’ होइन । यस अर्थमा गगनले चुनाव हारे पनि उनको आँटले भने जितेको छ । र, अन्य पार्टीका युवा नेताहरुलाईसमेत आ–आफ्ना पार्टीमा पुस्तान्तरणको बहसलाई धारिलो बनाउन दबाब बढाएको छ ।
टिप्पणीहरू