बालुवाटार र खुमलटारमा नेताहरुको कुदाकुद, उपेन्द्र यादव बालकोटमा

बालुवाटार र खुमलटारमा नेताहरुको कुदाकुद, उपेन्द्र यादव बालकोटमा

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किनै लाग्दा राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिक भेटघाट र संवादमा जुटेका छन् । दुवै तहका सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको भागबण्डा ‘प्याकेज’मा मिलाउने गरी नेताहरु विभिन्न पक्षीय छलफलमा सक्रिय भएका हुन् । 

सरकार गठनका लागि कुनै पनि दलसँग स्पस्ट बहुमत नभएकाले मिलिजुली सरकार बन्ने निश्चित छ । सत्ता गठबन्धनका दलहरुबीच गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्ने अनौपचारिक सहमति पनि गरेका छन् । कांग्रेस र माओवादी केन्द्रबीच अढाई-अढाई वर्ष प्रधानमन्त्री हुने अनौपचारिक सहमति भएको पनि बाहिर आइसकेको छ । तर, पहिलो खेपमा को प्रधानमन्त्री हुने भन्नेमा सहमति जुट्न नसकेका कारण शक्ति बाँडफाँटबारे गठबन्धन बैठकमा छलफल प्रवेश गर्नै सकेको छैन । गठबन्धनबाट वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको दावेदार हुनुहुन्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो कार्यकाल सरकारको नेतृत्व आफैँले पाउनुपर्ने अडानमा हुनुहुन्छ । त्यसअनुसार नै उहाँले आफ्ना सहयोगीमार्फत छलफल अघि बढाउनु भएको छ । त्यस्तै, प्रत्यक्षमा जम्मा २३ सिट जितेको कांग्रेसलाई सरकारको नेतृत्वमा पुर्याउन आफूले महत्वपूर्ण भूमिका खेलेकाले यसपटक पहिलो खेपमै प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको माग छ । 

प्रधानमन्त्रीमा हलो अड्किएपछि केही दिनयता अनौपचारिक छलफल गर्दै आएका गठबन्धनका नेताहरुले हिजोदेखि औपचारिक संवादमा जुटेका छन् । हिजो सांसदहरुको शपथलगत्तै प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बालुवाटारमा छिनालेर आ-आफ्ना कुरा राखेको बताइएको छ । साँझ भएको छलफलमा कांग्रेस नेता पुर्ण बहादुर खड्का र कृष्ण प्रसाद सिटौला पनि सहभागी थिए । साँझ सवा ६ बजे बैठकमा बसेका नेताहरु सवा ७ बजे बालुवाटारबाट बाहिरिएका थिए । हिजोको बैठकमा  प्रचण्डले प्रष्ट शव्दमा पहिलो कार्यकाल आफूले प्रधानमन्त्री पाउनुपर्ने बटमलाइन सुनाउनुभएको बताइएको छ । 

त्यसअघि बालुवाटारमै समाजवादीका अध्यक्ष नेपालले करिब पौने घण्टा प्रधानमन्त्री देउवासँग छुट्टै छलफल गर्नुभएको थियो । स्वास्थ्य उपचारका लागि टिचिङ अस्पतालमा भर्ना हुनुभएका उहाँ प्रधानमन्त्री भेट्न पौने ६ बजे बालुवाटार पुग्नुभएको थियो । दुई जनाको छुट्टै कुराकानी सकेपछि प्रचण्डसहितको बैठक बसेको हो ।  

यता, कांग्रेसले प्रधानमन्त्रीमा आफ्नो अडान नछोडे विकल्पमा जाने संकेत गर्नुभएका प्रचण्डले हिजै जसपा अध्यक्ष उपेन्द्र यादवसँग करिब पौने घण्टा छलफल गर्नुभएको थियो । हिजो बिहान भएको उक्त छलफलमा माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलसमेत सहभागी हुनुहुन्थ्यो । लगत्तै पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा अध्यक्ष भेट्न खुमलटार पुग्नुभएको थियो। उहाँले जम्मा १५ मिनेट भेटघाट गरेको खुमलटार स्रोतले जनाएको छ । 

पछिल्ला दिनमा माओवादी अध्यक्ष प्रचण्डसँग दैनिकजसो भेटघाट गरिरहनुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई हिजो प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएको थियो । अर्का अध्यक्ष महेन्द्रराय यादवसँगै जानुभएका उहाँले करिब १ घण्टा देउवासँग कुराकानी गरेर फर्किनुभएको हो । 

यता, आलोपालोको रस्साकस्सीले गठबन्धन टुट्नसक्ने चर्चा भैरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भेटघाट बढाउनु भएको छ । हिजो संसद भवन बानेश्वरमा देउवा, प्रचण्डलगायतका नेताहरुसँग अनौपचारिक संवाद गर्नुभएका उहाँले दिउँसो पार्टीको पदाधिकारी बैठक राख्नुभएको थियो । हिजै उहाँले जसपा अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवास बालकोटमा झन्डै एक घण्टा छलफल गर्नुभएको बुझिएको छ । ओली भेट्न यादव अपराह्न सवा ३ बजे बालकोट पुग्नुभएको उहाँनिकट स्रोतले बताएको छ । 

नेताहरु आज पनि बिहानैदेखि विभिन्न पक्षीय भेटघाटमा जुटेका छन् ।

टिप्पणीहरू