घर जान लागेका मुख्यमन्त्रीहरु देउखुरीमा भेट्ने

घर जान लागेका मुख्यमन्त्रीहरु देउखुरीमा भेट्ने

पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । कार्यकाल सकेर घर फर्किन लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिने उद्देश्यले सम्मेलन गर्न लागेका हुन् ।

देउखुरीमा हुने सम्मेलनको निम्ति लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ । प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर सोही स्थानमा मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्यालयले देउखुरीबाट मंसिर २८ गतेदेखि काम थालेको छ । अन्य मन्त्रालयहरु अब छिट्टै नै सार्ने तयारी थालिएको जानकारी दिइएको छ । यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरुको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको मुख्यमन्त्री केसीले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवम् सचिव नरेन्द्रकुमार रानाका अनुसार पुस १५ गते ‘मुख्यमन्त्री सम्मेलन’ गर्ने करिब टुंगो लागिसकेको छ । सहभागी मुख्यमन्त्रीहरुलाई यहाँको स्थायी राजधानीको बारेमा समेत लुम्बिनी प्रदेश सरकारले ब्रिफिङ गर्ने कार्यक्रम छ । 

गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिएर आइसकेका छन् । दुवै तहमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक ममिलामन्त्री तिलकराम शर्माका अनुसार यो अवस्थामा पाँच वर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न खोजिएको हो ।

सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेश प्रदेशका लालबाबु राउत, बागमतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका त्रिलोचन भट्ट सहभागी हुने बताइएको छ ।

 

टिप्पणीहरू