बाग्मतीमा बानियाँलाई धक्का, बहादुरको चमत्कार !
नेपाली कांग्रेसको बाग्मती प्रदेश संसदीय दलको नेता चयनका लागि आगामी पुस १३ गते निर्वाचन हुने भएको छ । निर्वाचनका लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा गठित समितिले हेटौँडास्थित संसदीय दलको कार्यालयमा मतदानको निम्ति निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।
जसअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन दिउँसो २ बजे मतदाता नामावलीमा दाबी विरोध र अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशित हुनेछ । भोलिपल्ट पुस १३ गते बिहान ८ बजे उम्मेदवारी दर्ता, साढे १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ११ बजे उम्मेदवारहरूको दाबी विरोध र दिउँसो १२ बजे उम्मेदवारहरूको दोस्रो पटक नामावली प्रकाशन प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
समितिले त्यहि दिन दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिने समय दिएको छ । दिउँसो पौने २ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने र दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । सोही दिन मत परिणाम सार्वजनिक हुनेसमेत बताइएको छ ।
निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । निर्वाचन तालिका सार्वजनिक भएसँगै संसदीय दलको नेताका दुई आकांक्षीहरूले आ–आफ्नो तयारी तीव्र पारेका छन् । संसदीय दलको नेता बन्ने तयारी गरिरहेका प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले सांसदहरुलाई आ–आफ्नो पक्षमा पार्न भित्रभित्रै तयारी गरिरहेका छन् ।
अहिले दलको नेता रहेका बानियाँ र नुवाकोटबाट जितेका बहादुर दुबै संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका सांसद् हुन् । आफ्नै खेमाका दुई सांसद दलको नेताको आकांक्षी बनेर मैदानमा उत्रिएपछि कांग्रेसको संस्थापन खेमाभित्र तरङ्ग पैदा भएको छ ।
अघिल्लो कार्यकालमै मुख्यमन्त्रीको दावी गरेका बानियाँ अन्तिममा सभापति तथा प्रधानमन्त्री देउवाको निर्देशनपछि पछि हटेका थिए । यसपटक कुनै हालतमा मुख्यमन्त्री बन्ने तयारीका साथ उनी दलको नेतामा भिड्न लागेका हुन् । तर, संस्थापन खेमाबाटै बहादुरले चुनौती दिएपछि उनी संकटमा परेका छन् ।
जनाइएअनुसार पछिल्लो समय संस्थापन पक्षका अधिकांश नेताले भित्रभित्रै बहादुरको पक्षमा लबिङ्ग थालेका छन् । त्यसैले यसअघि सामान्य चर्चामा समेत नरहेका उनी एकाएक बलियो दावेदारका रुपमा अगाडि आएका छन् । बानियाँमाथि संसदीय दलको नेताका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र आफ्नो गृहजिल्ला मकवानपुरमा कांग्रेसको संगठन बलियो बनाउन नसकेको आरोप लागेको छ । नीजि स्वार्थका लागि गुट परिवर्तन गर्ने गरेको आरोप पनि बानियाँमाथि लागेकै छ । कहिले संस्थापन र कहिले शेखर कोइराला समूह भनेर अस्थिर चरित्र देखाएका कारण देउवाको विश्वास गुमाएपछि बानियाँलाई बालुवाटारले पत्याउन छाडेको जिल्लाका कांग्रेसी नेताहरु बताउँछन् ।
त्यस्तै, तीनै तहका निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको पनि उनीमाथि अर्को आरोप छ । गत निर्वाचनमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई जिताउन नसकेकोमा पनि बानियाँ आलोचित बनेका छन् । बानियाँले अन्तर्घात गरेर डिना र आनन्दराम पराजुलीलाई हराएको मकवानपुरका नेताहरु दावी गर्छन् । देउवाको विश्वासपात्र मानिने डिनाको पराजयमा बानियाँलाई कारण देखेको कांग्रेस संस्थापन पक्षले उनको विकल्पमा बहादुरसिंहलाई अघि सारेको भन्नेहरु पनि धेरै देखिएका छन् ।
बानियाँको विकल्पमा बहादुर सिंहलाई उम्मेदवार बढाउने सहमति देउवा पक्षले गरिसकेको एकथरी कांग्रेस नेताहरु बताउँछन् । बहादुर दुई पटक कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन् । देउवाले नपत्याएपछि बानियाँ कोइराला समूहबाट उम्मेदवार हुन् प्रयासरत रहेको गाईंगुईं पनि चलाइएको छ ।
बाग्मती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । निर्वाचित सांसदको संख्यालाई हेर्दा देउवा पक्ष आन्तरिक राजनीतिमा बहुमतमा छ ।
टिप्पणीहरू