सांसदहरुको तलब रोक्न माग गर्दै अध्यक्षसामू हारगुहार
राष्ट्रिय एकता अभियानले संघ र प्रदेश दुवै तहका सांसदहरुलाई तलब नदिन माग गरेको छ । ठूलो संख्यामा निर्वाचित हुने संघ र प्रदेशका सांसदहरुको सेवा, सुविधा र तलब भत्तामा राज्यले धान्नै नसक्ने खर्च भइरहेको भन्दै आमरुपमा राजनीतिप्रति नै वितृष्णा बढिरहेका बेला अभियानले आज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई ज्ञापन पत्र बुझाउँदै तलब भत्ता रोक्न माग गरेको हो ।
मुलुक अहिले आर्थिक रुपले अप्ठेरो अवस्थामा रहेको र सांसदहरुको सेवा सुविधामा मासिक करोडौं रकम खर्च भइरहेको भन्दै अभियानले त्यसबाट पर्ने आर्थिक व्ययभार कटौती गर्न सांसदहरुले पाउने दैनिक भत्ता बाहेक सबै तलब सुविधा बन्द गर्न र आवश्यक पहलकदमी लिन अध्यक्ष तिमिल्सिनासँग आग्रह गरेको छ ।
‘माननीय सांसदज्यू र प्रदेशसभाका सभासदज्यूहरुलाई दिर्इंदै आएको दैनिक भत्ताबाहेक सबै तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्नका लागि उपयुक्त कदम चाल्न माग गर्दछौँ’, ज्ञापन पत्रमा भनिएको छ । आफ्नो माग समयमै सम्बोधन नभए सडक आन्दोलनमा उत्रिने अभियानको चेतावनीसमेत छ ।
ज्ञापनपत्रमा संघीय संसद मुलुकको ढुकुटी रित्याउने माध्यम बनेको भन्दै यसले जनताको भरोशा नै टुट्ने जोखिम बढेको पनि बताइएको छ ।
टिप्पणीहरू