मेयर हर्कका समर्थकले अदालतको आदेश नमान्ने

मेयर हर्कका समर्थकले अदालतको आदेश नमान्ने

उच्च अदालत विराटनगरले साबुन कारखानाको निर्माण प्रक्रिया रोक्न दिएको आदेशविरुद्ध धरान उपमहानगरका स्थानीयले चर्को असन्तुष्टी जनाएका छन् । उपमहानगरका मेयर हर्क साम्पाङका समर्थकहरुले आज विष्णुपादुका डिभिजन वन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै फ्याक्ट्री निर्माण कार्यमा अवरोध नगर्न माग गरेका हुन् । 

ज्ञापन पत्रमा तत्काल साबुन कारखाना निर्माणले रोजगारीको अवसर सिर्जना हुने हुँदा त्यसमा भाँजो हाल्न नहुने जनाइएको छ । धरानमा बन्न लागेको साबुन कारखानाबाट धरान आफैँ साबुन उत्पादनमा आत्मनिर्भर हुने र रोजगारीका अवसरहरु सिर्जना हुने उनीहरुको भनाइ छ । 

‘उक्त साबुन फ्रयाक्ट्री बन्न नदिए धरानमा रोजगारीको अवसर सिर्जना गर्न÷गराउन वा धरानलाई साबुनमा आत्मनिर्भर बनाउन वन कार्यालयलाई जोडदार माग गर्दछौँ,’ ज्ञापनपत्रमा उल्लेख छ ।    

उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले धरान २० को नमुना बस्तीमा भइरहेको साबुन उद्योग निर्माण कार्य तत्काल रोक्न आदेश दिएको थियो । अदालतको त्यस निर्णयप्रति असन्तुष्ट स्थानीयले ज्ञापन पत्र बुझाएर वन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।    

वन कार्यालयले यसअघि वन क्षेत्राधिकारभित्र रहेका जग्गा अतिक्रमण गर्दा आवश्यक प्रक्रिया पूरा नगरी साबुन कारखाना निर्माण गरेको दावी गर्दै त्यसविरुद्ध उच्च अदालत विराटनगरमा रीट दायर गरेको थियो । रीट उपर सुनुवाई गर्दै अदालतले उपमहानगरका मेयर हर्क साम्पाङलाई समेत साबुन कारखानाको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो ।

टिप्पणीहरू