चार्ल्स भोलि बिहान पेरिस पुग्ने
कुख्यात अपराधी तथा सिरियल किलर चार्ल्स शोभराजलाई देश निकाला गरिएको छ । उनलाई साँझ ६ बजेको कतार एअरवेजको उडानबाट उनको मुलुक फ्रान्सतर्फ पठाइएको छ ।
कालिकास्थानस्थित अध्यागमन विभागबाट साँझ ५ बजे उनलाई कडा सुरक्षाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको हो । हत्या आरोपमा जन्मकैदको सजाय पाएको १९ वर्षपछि उनी सर्वोच्च अदालतको आदेशपछि १० महिना अगावै छुटेका हुन् ।
आज बिहान केन्द्रीय कारागार, जगन्नाथ देवलबाट थुनामुक्त गरेर उनलाई अध्यागमन विभागको जिम्मा लगाइएको थियो । उनको मागबमोजिम प्रहरीले पत्रकारलाई फोटो खिच्ने मौका समेत नदिएको बताइन्छ ।
अधिवक्ता गोकुल सिवाकोटी ‘चिन्तक’ ले नेपाल सरकारले निर्णय र चार्ल्सले आजै फ्रान्स फर्कने इच्छा देखाएपछि आफूले टिकट र विदेशी मुद्राको व्यवस्था गरेको जानकारी दिएका हुन् । त्यसपछि उनलाई नेपाल प्रहरीको भ्यानमा राखेर अध्यागमन विभागबाट सोझै विमानस्थल पुर्याइएको थियो ।
चार्ल्स आज कतारको दोहा हुँदै भोलि बिहान फ्रान्सको राजधानी पेरिस पुग्नेछन् । उनी चढेको उडान नम्बर क्युआर ६४७ विमानमा ९१ जना नेपाली र ५२ जना विदेशी गरेर जम्मा १ सय ४३ जना यात्रु रहेको कतार एअरवेज स्रोतले बताएको छ ।
टिप्पणीहरू