प्रधानमन्त्री र प्रचण्ड ‘फाइनल’ वार्तामा
राष्ट्रपतिले दिएको सरकार गठनको समयभित्रै सरकार गठनका साथै ’पावर सेयरिङ’ मिलाउने बाध्यतामा रहेका सत्ता गठबन्धनका दुई शीर्ष नेताको भेटवार्ता शुरु भएको छ ।
प्रधानमन्त्रीको दावेदार काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल शुरु भएको बताइएको छ । सत्ता गठबन्धनबाटै सरकार बनाउने र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति जुटाएका कांग्रेस र माओवादीबीच पहिलो खेपमा को प्रधानमन्त्री बन्ने भन्नेमा विवाद छ ।
प्रचण्डले सरकारको पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आउनुभएको छ भने देउवाले पनि उक्त दावी छाड्नुभएको छैन । सोही कारण राष्ट्रपतिले प्रधानमन्त्रीमा दावी पेश गर्न दिएको पुस १० गतेको समय घर्किंदै जाँदासमेत गठबन्धनमा सहमति जुट्न सकेको छैन ।
यहिबारेमा ‘फाइनल’ कुरा गर्न प्रचण्ड बालुवाटार पुग्नुभएको हो । जारी भेटवार्तामा सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । छलफलमा माओवादीबाट प्रचण्ड मात्रै सहभागी हुनुहुन्छ ।
टिप्पणीहरू