गठबन्धनमा छलफल तीव्र : प्रचण्ड कोटेश्वर, रामचन्द्र खुमलटार
नयाँ सरकार गठनको निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई बहुमतको दाबी गर्न भोलि साँझसम्मको समयसीमा दिनुभएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपछि परेको गाँठो फुकाउन नेताहरु विभिन्न भेटवार्तामा सक्रिय भएका हुन् । सोही क्रममा हिजो राति बालुवाटारमा काँग्रेस नेताहरुबीच झण्डै एक घण्टा कुराकानी भएको बताइन्छ ।
कुराकानीमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी हुनुभएको हो । उहाँहरुले राति ९ बजेदेखि १० बजेसम्म छलफल गर्नुभएको स्रोतको दाबी छ ।
उता अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पनि भेटघाटले तीव्रता लिएको छ । दाहालसँग आज बिहान काँग्रेस नेता रामचन्द्र पौडेलले कुराकानी गर्नुभएको हो । पौडेल बिहान साढे ७ बजे त्यहाँ पुगेर पौने ९ बजे बाहिरिनुभएको हो । उहाँ हिजो बेलुकी बालुवाटारमा भएको कुराकानीको निश्कर्ष सुनाउन दाहाल निवास पुग्नुभएको सहजै अनुमान लगाउन सकिन्छ ।
उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि विभिन्न दलका नेताले भेट गरेका छन् । नेपाल निवास कोटेश्वरमा उहाँसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच आज बिहान ९ बजेदेखि झण्डै डेढ घण्टा कुराकानी भएको हो ।
काँग्रेस नेता पौडेलले बालुवाटारको सन्देश खुमलटारमा सुनाएपछि प्रचण्ड नेपाल निवास पुग्नुभएको हो ।
टिप्पणीहरू