खुमलटारमा काँग्रेस नेता निस्कने, माओवादी छिर्ने
नयाँ सरकार गठनमा नेतृत्वको निम्ति बहुमत दाबी गर्ने समय भोलि अपरान्ह ५ बजे तोकिएको छ । लगभग २४ घण्टाको समयसीमा बाँकी भएको अवस्थामा पनि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कसले नेतृत्व गर्ने भन्ने विषयको निक्र्यौल भइसकेको छैन ।
दुई दलका नेताहरुबीच भरहेको निरन्तरको वार्ता, भेटघाट र छलफलमा रस्साकस्सी देखिन्छ । काँग्रेस र माओवादी दुबैले प्रधानमन्त्रीमा आफ्नो अडान छाडेका छैनन् ।
सोही विषयमा कुरा गर्न आज दिउँसो पनि अध्यक्ष दाहालको निवास खुमलटारमा नेपाली काँग्रेसका नेता पुगेका हुन् । उपसभापति पूर्णबहादुर खड्का बालुवाटारको सन्देश बोकेर गएको उक्त भेटमा अध्यक्ष दाहाल, महासचिव देव गुरुङ र नेता शक्ति बस्नेतबीच आधा घण्टाभन्दा बढी समयसम्म कुराकानी भएको बताइएको छ ।
उहाँहरुबीच मध्यान्ह साढे १२ बजेको समयमा खुमलटारमा कुराकानी भएको हो । उपसभापति खड्का बाहिरिएपछि दाहाल निवासमा पार्टी उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन पुगेपछि माओवादी नेताहरुबीच मात्रै छलफल भएको थियो ।
हिजो अध्यक्षसँग भेटवार्ता गर्न काँग्रेस नेता प्रकाशमान सिंह खुमलटार जानुभएको हो । आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल दाहालसँग कुराकानी गर्न त्यहाँ जानुभएको थियो । पौडेल निस्केपछि प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्न कोटेश्वर जानुभएको हो ।
टिप्पणीहरू