सत्ता गठबन्धन जोगाउनेबारे आज के जुट्यो सहमति,कसले के भने ?

सत्ता गठबन्धन जोगाउनेबारे आज के जुट्यो सहमति,कसले के भने ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक झण्डै तीन घण्टा बसेको छ । आज दिउँसोदेखि बसेको बैठक साँझ ७ बजेको हाराहारीमा सकिएको थियो । बैठकमा सत्ता गठबन्धन जोगाउँदै भोलि अपरान्ह ५ बजेभित्र नयाँ सरकार गठनको दाबी गर्ने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा सबै दलका शीर्ष नेताले आफ्नो भनाइ राखेको बुझिएको छ । बैठकमा सबैभन्दा पहिले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता गठबन्धन जोगाउनै पर्ने धारणा राख्नुभएको थियो । उहाँले वर्तमान गठबन्धनको सरकारलाई मात्रै आफूहरुले समर्थन गर्ने तर अन्य दलको समर्थनमा सरकार गठन भएमा जनमोर्चाले समर्थन गर्न नसक्ने प्रष्ट धारणा राख्नुभएको थियो । उहाँको भनाइको अर्थ एमालेसँग मिलेर नयाँ सरकार गठन भएमा जनमोर्चाले समर्थन नगर्ने भन्ने रहेको सहभागी नेताहरुले उल्लेख गरे । 

बैठकको प्रारम्भमा अमूर्त ढंगले सबैजसो नेताले ‘गठबन्धनमा तलमाथि नहुने’,र ‘तलमाथि नगर्ने,’ भन्ने धारणा राख्नुभएको थियो । तर,पहिलो चरण सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छिनालेर कसैले कुरो नराखेपछि नेता केसीले पहिले मुख खोल्नुभएको सहभागी एक जना नेताले बताए । 

"उहाँले वर्तमान गठबन्धनको सरकारलाई मात्रै आफूहरुले समर्थन गर्ने तर अन्य दलको समर्थनमा सरकार गठन भएमा साथ दिन नसक्ने प्रष्ट धारणा राख्नुभएको थियो ।"

त्यसपछि नेकपा एकीकृत समाजवादीका नेताहरुले पनि अन्य दलसँग सत्ता गठबन्धन भएको अवस्थामा आफूहरुले पनि समर्थन गर्न नसक्ने धारणा राखेका थिए । ‘वर्तमान सत्ता गठबन्धनबाहेक अन्य राजनीतिक दलसँगको सहकार्यमा हुने सरकार गठनलाई समर्थन गर्न सकिँदैन,’ एकीकृत समाजवादीका नेताहरुले उक्त भनाइ दोहोर्याएका हुन् । सोही भनाइमा काँग्रेस र माओवादीका नेताहरुले पनि सहमति जनाएका थिए ।

बैठकमा गठबन्धन जोगाउनेबारे सबै सहमत भए पनि भोलि पेश गरिने दावीमा प्रधानमन्त्रीमा देउवा वा प्रचण्ड को हुने भन्ने टुंगो लागेको छैन । प्रचण्ड आगामी प्रधानमन्त्री हुनुपर्ने तर्कसहित माओवादी नेताहरुले भनेका छन्, ‘वर्तमान गठबन्धनमा पहिलो पटक देउवा प्रधानमन्त्री हुनुभयो । गत वर्ष देउवा प्रधानमन्त्री हुँदा नेपाली काँग्रेस भन्दा माओवादी र समाजवादीका सांसद धेरै थिए । त्यतिबेला हामीहरु एउटै पार्टीमा थियौं । अबको पालो माओवादीको हो ।’

बैठकमा अरुले धारणा राखे पनि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले भने पटक पटक ‘साथीहरुसँग सल्लाह गर्छु’ भन्नुभएको माओवादी स्रोतले बतायो । बैठकको अन्त्यमा भोलि साँझ गठबन्धनकै तर्फबाट प्रधानमन्त्री दाबी गर्ने सहमति गरिएकाले देउवा वा प्रचण्डमध्ये एक जनाको तर्फबाट शीतल निवासमा प्रधानमन्त्री दाबी गरिने माओवादीका उनै नेताले जानकारी दिए । 

आजको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थिति थियो । त्यसैगरी काँग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला,डा. प्रकाशशरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि बैठकमा सहभागिता थियो । 

माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ,देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाललगायत झण्डै चार दर्जन नेताको उपस्थिति रहेको बालुवाटार स्रोतले बतायो ।

टिप्पणीहरू