काँग्रेसका सांसदहरुलाई बालुवाटार बोलाइयो
नयाँ सरकारको नेतृत्व दावी गरिरहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दावी पेश गर्न दिएकाे एक साताको समय सकिनै लाग्दा दलको नेतासमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई बालुवाटार बोलाउनुभएको हो ।
सत्तारुढ गठबन्धनको नेतृत्वमा सरकार निर्माण हुने भनिए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने भन्नेमा कुरा मिलेको छैन । गठबन्धनबाट कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो खेपमा आफू प्रधानमन्त्री हुनुपर्ने दावी गर्नुभएको छ ।
माओवादीले सरकारको नेतृत्व नपाए विकल्पमा जाने चेतावनी दिएको चर्चा चलिरहेका बेला कांग्रेसले आफ्ना सांसदहरुलाई बालुवाटार बोलाएको हो । अहिले अपराह्न साढे १२ बजेका लागि खबर आएको कांग्रेसका एक सांसदले बताए । देउवाले सांसदहरुसँग परामर्श गरेर सरकारको नेतृत्वका सम्बन्धमा निर्णय लिने सम्भावना छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न दिएकाे एक साताकाे समय आज बेलुका ५ बजे सकिँदै छ ।
टिप्पणीहरू