दूरसञ्चारको कडाई : मोबाईल सेट एमडीएमएस प्रणालीमा अद्यावधिक गर्नैपर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) अनिवार्य रुपमा लागू गर्ने भएको छ । यसअघि परीक्षणको रुपमा लागू गरिएको सो प्रणाली आँउदो पुस १५ गतेदेखि पूर्ण रुपमा कार्यान्वयन गर्न लागेको प्राधिकरणले जनाएको छ ।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी तथा हराएका मोबाइल सेटको ट्रयाकिङ्ग गर्न प्राधिकरणले एमडीएमएस प्रणाली सञ्चालन गरेको थियो ।
प्राधिकरणले विदेशबाट आउने, नीजि प्रयोगका लागि आफ्नो साथमा ल्याएका (प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदौभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरुको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको छ ।
नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल फोन सेट तोकिएको मितिपछि दर्ता नगरिने र त्यस्ता मोबाइल सेट सञ्चालनमा रोक लगाइने भन्दै प्राधिकरणले सचेतसमेत गराएको छ ।
नेपालभित्रै मोबाइल खरिद गर्दासमेत एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले भनेको छ । साथै, मोबाइल आयातकर्ता, बिक्रेताहरुलाई मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको पूर्वस्वीकृति लिन निर्देशन दिइएको छ ।
टिप्पणीहरू