बालुवाटार बैठकमा को-को पुगे ?
सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी छ । बिहान साढे १० बजेबाट शुरु भएको बैठकले शक्ति बाँडफाँटबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
संविधानको धारा ७६(२) बमोजिम बहुमतको प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले दुबै तहका सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका शक्तिशाली पद भागबण्डा मिलाउने कसरतमा गठबन्धनका नेताहरु जुटेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसिरहेको गठबन्धनको बैठकमा कांग्रेसबाट उपसभापति पुर्ण बहादुर खड्का, कृष्ण प्रसाद सिटौला, प्रकाशशरण महत र ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् । नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र उपमहासचिव शक्तिबहादुर बस्नेत बैठकमा बसेका छन् ।
त्यस्तै, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल बैठकमा सहभागी छन् । बैठकमा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसी र लोसपा अध्यक्ष महन्त ठाकुर पनि उपस्थित रहेको बताइएको छ ।
गठबन्धनकै सरकार बनाउने र आलोपालो नेतृत्व गर्ने विषयमा सहमत भए पनि पहिलो खेपमा को प्रधानमन्त्री भन्नेमा गठबन्धनका शीर्ष नेताहरुबीच कुरा मिलेको छैन । जारी बैठकले यसबारे निर्णय गर्ने नेताहरुले बताएका छन् ।
टिप्पणीहरू