सत्ता गठबन्धन टुट्ने खुमलटारको संकेत
नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघिको सहमति तोडेर सरकारको नेतृत्व लिन खोजेको भन्दै माओवादीका कतिपय नेताहरुले असन्तुष्टि पोखिरहेका बेला अध्यक्ष प्रचण्डको सचिवालयले गठबन्धनको निरन्तरतामाथि आशंका गरेको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राजनीतिमा आफू कमजोर हुँदा एउटा सहमति गर्ने र माथि पुगेको भान पर्न थाल्दा तोडिहाल्ने खराब प्रवृत्ति हाबी भएको बताएका छन् । उनले आज समाजिक सञ्जालमा लेखेका छन्, 'नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ।'
मल्लले पछिल्लो घटनाक्रमले इतिहासको फेरि दुखान्त पुनरावृत्ति देखाएको औंल्याउँदै गठबन्धन विघटनतर्फ अघि बढेको संकेत गरेका छन् ।
माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पनि राष्ट्रपति र प्रधानमन्त्री दुवै काँग्रेसलाई दिएर गठबन्धनमा बस्न नसकिने प्रष्ट पारेका छन् । काँग्रेसले सहमति तोडेर अघि बढे गठबन्धन स्वत: विघटन हुने उनको भनाई छ ।
‘विषयलाई सहज बनाऔँ । पूर्वसहमतिअनुसार गठबन्धनले सरकारको नेतृत्व दिन्छ गरौँ । नत्र राष्ट्रपति ले दिएको समय सीमा कटे संविधानतः देउवा प्रम हुन्छन् । उनले चाहेको पनि यही हो । देउवाले गठबन्धन छोडेको हुन्छ’, नेता सापकोटाले फेसवुकमा लेखेका छन् ।
सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा आलोपालो सहमति भएपनि पहिलो कार्यकाल देउवा कि प्रचण्ड भन्नेमा विवाद छ । चुनावअघि नै देउवा र प्रचण्डबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने र पहिलो कार्यकाल प्रचण्डलाई दिने सहमति भएको माओवादीको दावी छ । तर, कांग्रेसका नेताहरुले भने ठूलो दलको नेताको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दावी गरिरहेका छन् ।
टिप्पणीहरू