बालुवाटारमा कुरा मिलेन,बालकोटतिर सर्यो बल

बालुवाटारमा कुरा मिलेन,बालकोटतिर सर्यो बल

नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेससँग सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिनुभएको छ । काङ्ग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको दावी नछोडेपछि सहमति भाँडिएको र प्रचण्ड बैठकबाट निस्किएको बताइएको छ । 

राष्ट्रपतिले दिएको समयभित्रै प्रधानमन्त्रीमा दावी पेश गर्नुपर्ने दबाबका बीच आज बिहानैदेखि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल छलफलमा थिए । 

त्यसअघि विभिन्न चरणमा नेताहरुबीच छुट्टाछुट्टैसमेत छलफल भएको थियो । शुरुमा देउवा र प्रचण्डबीच 'वान टु वान' कुराकानी भएको थियो भने पछि अध्यक्ष नेपाल र खनाल थपिनुभएको थियो । 

तर, दलहरुले आ-आफ्नो अडान नछाडेपछि सहमति जुट्न नसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार देउवाले दुवै पद अरुलाई दिन नसक्ने अडान लिएपछि प्रचण्डसँगै गठबन्धनका अन्य नेताहरु पनि बालुवाटारबाट बाहिरिएका छन् । 

बालुवाटारबाट निस्किएलगत्तै अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेको स्रोतको भनाइ छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको सात दिनको समय आज बेलुकी पाँच बजे सकिँदै छ ।
 

टिप्पणीहरू