एमाले,राप्रपा र रास्वपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै

एमाले,राप्रपा र रास्वपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्कनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निवास खुमलटार छिरेर एमाले अध्यक्ष भेट्न भर्खरै बालकोट पुग्नुभएको छ । 

दिउँसो १ बजेतिर बालुवाटारबाट बाहिरिनुभएका अध्यक्ष प्रचण्ड खुमलटार पुगी साढे १ देखि पौने २ बजेसम्म पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसंग आन्तरिक छलफल गरेर बालकोट जानुभएको हो । सरकार गठनमा नेपाली काँग्रेससँग कुरा नमिलेपछि गठबन्धनको बैठक छोडेर निस्केका माओवादी महासचिव देव गुरुङसहितका नेताहरु प्रचण्ड पुग्नुअघि नै बालकोट गएका थिए ।

अहिले बालकोटमा ओली,प्रचण्ड, रास्वपाका अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनबीच छलफल भैरहेको छ । जारी छलफलमा राष्ट्रपतिले दिएको समयभित्रै बहुमत जुटाएर नयाँ सरकारमा दावी पेश गर्ने तयारी भैरहेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकारको दावी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।  

संसदमा एमालेको ७८,माओवादी ३२,रास्वपा २० र राप्रपाको १४ सिट छ । बालकोट स्रोतका अनुसार अन्य साना दल र स्वतन्त्रसहित १४४ जना पुर्याएर सरकारमा दावी प्रस्तुत गर्न शीतल निवास जाने तयारी छ ।

टिप्पणीहरू