विश्वका विभिन्न जेलमा ९ हजार भारतीय,नेपालमा मात्रै १२ सय २२

विश्वका विभिन्न जेलमा ९ हजार भारतीय,नेपालमा मात्रै १२ सय २२

विश्वको विभिन्न देशका जेलमा हालसम्म नौ हजार भारतीय बन्दी छन् । भारतीय मन्त्रिपरिषद्को हालैको निर्णयमा उक्त संख्याबारे उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका एक जना मन्त्रीले सरकारले बन्दी रिहाइका लागि चौविसै घण्टा कन्सुलर सुविधा उपलब्ध गराएको जानकारीसमेत दिएका छन् ।

विदेश राज्यमन्त्री बी.मुरलीधरनका अनुसार विश्वका विभिन्न देशका ८६ वटा कारागारमा करिब नौ हजार भारतीय नागरिकले कैदीको रूपमा समय बिताइरहेका छन् । लोकसभाका एक सदस्यको प्रश्नको जवाफमा मन्त्रीले उक्त संख्या उल्लेख गरेका हुन् ।

उनले भने,‘डिसेम्बर १५ सम्म विदेशका विभिन्न कारागारमा आठ हजार ९५० भारतीय छन् । तीमध्ये एक हजार ८५८ युएईका विभिन्न कारागारमा,एक हजार ३८४ साउदी अरबका विभिन्न कारागारमा र एक हजार २ सय २२ नेपाली जेलमा छन् ।

यस क्रममा उनले विदेशमा थुनिएका ती भारतीयको सुरक्षा सुनिश्चितता गर्न सरकारले अधिकतम निगरानी गरिरहेको पनि बताए । यसैबीच मुरलीले बन्दी फिर्ताको बारेमा भनेका छन्,‘भारतले ५० देशसँग सुपुर्दगी सम्झौता गरेको छ भने १२ देशसँग सुपुर्दगीको व्यवस्था गरेको छ । सजाय भोगेका व्यक्तिको स्थानान्तरणका लागि ३१ देशसँग सम्झौता भइसकेको छ ।’
 

टिप्पणीहरू