पाकिस्तानको बधाई पनि शपथ अगावै

पाकिस्तानको बधाई पनि शपथ अगावै

हिजो साँझ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई तथा शुभकामना दिनुभएको छ । नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पाटी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्डलाई शरिफले बधाई दिनुभएको हो । 

आफ्नो ट्विटरमा शरिफले लेख्नुभएको छ,‘पुष्पकमल दाहाललाई नेपालको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक शुभकामना । क्षेत्रीय साझेदारको हैसियतमा पाकिस्तान र नेपालबीच सौहार्दपूर्ण सम्बन्ध छ । म उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगलाई थप सुदृढ पार्ने कामको निम्ति तत्पर छु ।’

मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई भारत र चीनले हिजै राति बधाई दिइसकेका छन् । त्यस्तै, अमेरिकाले पनि उहाँलाई  आज बिहान शुभकामना दिएको हो । प्रचण्डलाई आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा प्रधानमन्त्री पद र गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

टिप्पणीहरू