ल्होसारका दिन मधेश प्रदेशका सांसद्को शपथग्रहण

ल्होसारका दिन मधेश प्रदेशका सांसद्को शपथग्रहण

मधेश प्रदेशका नवनिर्वाचित सांसद्ले आउँदो शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । 

आज बसेको सर्वदलीय बैठकले पुस १५ गते ल्होसारको सार्वजनिक बिदाका दिन शपथग्रहण कार्यक्रम तय गरेको हो । प्रदेश सभा सचिवालय, जनकपुरधाममा दिँउसो २ बजेदेखि कार्यक्रम शुरु हुने सचिव रञ्जितकुमार यादवले बताए । 

सांसद्हरु साढे ११ बजे नै सचिवालयमा उपस्थित हुनुपर्नेछ । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने सचिवालयले जनाएको छ । 

सदस्यहरु निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रतिलिपि (सक्कल तथा नक्कल एक प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र राष्ट्रिय पोशाक वा आआफ्नो संस्कृति झल्किने पोशाकमा उपस्थित हुनुपर्नेछ । 

आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यलाई शपथको व्यहोरा अनुवाद गरी सोको प्रति तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन सूचित गराइएको छ ।

टिप्पणीहरू