यस्तो छ, हिँड्ने बेलामा सुनाइएको श्रममन्त्रीको प्रगति विवरण
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
उहाँले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । गत असार १३ गतेदेखि श्रममन्त्रीको जिम्मेवारी सम्हालेपछि आफूूले श्रम प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कार्ययोजनाका साथ अघि बढेको उहाँको भनाइ छ ।
त्यस्तै, संघीय संरचनाअनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी सबै श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
आन्तरिक रोजगारीका विभिन्न कार्यक्रमहरुसमेत सञ्चालनमा ल्याइएको मन्त्री कुँवरको भनाइ छ । प्रधानमन्त्री रोजगारी कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम पनि कार्यान्वयनमा आएकोजस्ता विषयलाई मन्त्री कुँवरले आफ्नो उपलब्धिको रुपमा उल्लेख गर्नुभएको हो ।
वैदेशिक रोजगारीसम्बन्धी विविध कार्य अघि बढेको जनाइएको छ । वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कार्यअन्तर्गत अंगभंग वा मृत्यु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता र छात्रवृत्तिसम्बन्धी सेवालाई अनलाइनमार्फत प्रदान गर्ने व्यवस्था आफ्नै कार्यकालमा भएको उहाँले सुनाउनुभयो ।
वैदेशिक रोजगारीसम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाह गरिएको, श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको कामलाई पूर्णरुपमा अनलाइन प्रणालीमा आबद्ध गरिएको मन्त्रालयले जनाएको छ । यसबाट श्रम स्वीकृतिका लागि लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको मन्त्रीको दाबी छ ।
टिप्पणीहरू