गृहमन्त्री नदिए समर्थन फिर्ता लिने धम्की
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तेस्रो कार्यकाल शुरु भएकै दिन दाँतमा ढुङ्गा लागेको छ । आज गठित आठ सदस्यीय मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री राख्ने- नराख्ने र क-कसलाई कु पोर्टफोलियो दिने भन्ने लफडा बिहानै सत्ता साझेदार दलहरूवीच चल्दा टाउको दुखेको हो । यसैकारण ४ जना मन्त्रीले शपथ खाएर पनि मन्त्रालयमा बहाली हुन भने पाएनन् । एमालेबाट अर्थमा विष्णु पौडेल,माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले मात्रै उपप्रधानसहित गृहमन्त्री बन्न पाउँदा सिके राउतका प्रतिनिधिले सम्म उध्योग,वाणिज्य पाए । एमालेका दामोदर भण्डारी,ज्वालाकुमारी साह र राजेन्द्र राईको जिम्मेवारी नै तोकिएन ।
आज बिहान ११ बजे संसद भवन,नयाँ बानेश्वरमा बसेको सात दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँडको विषय उठ्ने बित्तिक्कै लामिछानेले कुनै हालतमा आफूलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अडान राखेको बताइन्छ । प्रधानमन्त्री नियुक्त प्रचण्ड र भूतपूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहितको उक्त बैठकमा निकैबेर गलफत्ती भएपछि रविको मागबमोजिम दिने निर्णय भएको सहभागी एक जना नेताले बताए ।
"यो मान्छेमा राजनीतिक संस्कार रहेनछ,सास नै नागरिकता काण्डमा अड्किएको रहेछ भन्दै नेताहरुले पछि कानेखुशी समेत गर्न भ्याए ।"
‘आज बिहान डाकिएको गठबन्धनको बैठकमा गृह नपाए समर्थन फिर्ता लिन्छु भन्ने धम्की दिए । हिजो हतार हतार २० जनाको समर्थन दिएर २० घण्टा नबित्दै आज फिर्ताको धम्की दिएपछि नेताहरु झस्किए,’ उनले भने । रविको उक्त धम्की गठबन्धनका शीर्ष नेताहरु ओली र प्रचण्ड दुबैलाई पहिलो गाँसमै ढुंगा लागेसरह भएको बताइन्छ ।
उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी नपाए समर्थन फिर्ता लिने धम्की आएपछि बैठकमा एकछिन सन्नाटा छाएको थियो । यो मान्छेमा राजनीतिक संस्कार रहेनछ,सास नै नागरिकता काण्डमा अड्किएको रहेछ भन्दै नेताहरुले पछि कानेखुशी समेत गर्न भ्याए ।
एउटा दलको सांसदले राष्ट्रपतिबाट नियुक्त तर शपथग्रहण नखाइसकेका प्रधानमन्त्रीलाई दिएको धम्कीलाई सामान्य अर्थमा लिन नहुने भनी एमाले र माओवादी दुबै वृत्तमा चर्चा भएको छ । मन्त्री नहुँदै धम्क्याएर आफ्नो चाहनाबमोजिमको पोर्टफोलियो र मन्त्रालय माग गर्ने प्रवृत्तिले मूलतः प्रधानमन्त्री प्रचण्डलाई आगामी दिनको यात्रा सहज नहुने अड्कल लगाइएको छ ।
रविजस्तै प्रवृत्ति बढ्दै गए सरकार सञ्चालन गर्न गाह्रो हुने पक्का छ । त्यस्तो अवस्थामा माओवादी नेतृत्वको पछिल्लो सरकार झलनाथ खनालको जस्तै इतिहासकै कमजोर हुने सम्भावना पनि उत्तिकै रहेको जानकारहरु बताउँछन् ।
टिप्पणीहरू