विद्युत प्राधिकरणको निर्णय पुनः अलपत्रको सम्भावना

विद्युत प्राधिकरणको निर्णय पुनः अलपत्रको सम्भावना

मुलुकको राजधानी काठमाडौंलाई पछिल्लो समय तारको राजधानी भन्न थालिएको छ । जताततै तारको गुजुल्टो भएपछि तारको राजधानी नामाकरण गर्नु पनि स्वाभाविकै हो । तार पसलमा बेच्न राखिएको भन्दा धेरै पोलमा गुजुल्टिएको देखिन्छ ।

विभिन्न सेवा प्रदायक कम्पनीहरुले झुण्डाएको तार थेग्न नसकेर कतिपय स्थानमा पोल नै लत्रिसकेका देखिन्छन् । तार थाम्न नसकेर घरीघरी झुण्डाएको तारमा आगजनी हुने गरेको छ । इन्टरनेट, टेलिफोन, केबुलका सबै तार एउटै पोलमा जोडिएको छ । 

तारको गुजुल्टोले शहर नै अव्यवस्थित र कुरुप देखिन थालेको छ । तार जोडेर छरपष्ट पारिदिँदा शहरको सौन्दर्यमा धब्बा लागेको छ । सेवाका लागि लुछाचुँड गर्ने कम्पनीहरुले गैरजिम्मेवारीपूर्ण काम गर्दा सर्वसाधारणले सास्ती पाएको नेपाल विद्युत प्राधिकरणको भनाइ छ । 

बिजुलीका पोलमा असरल्ल तार झुण्डिँदा पनि विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले खासै चासो भने देखाएका छैनन् । नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, थापाथली, शान्तिनगर, बागबजार, पुतलीसडक, अनामनगर, रत्नपार्कलगायतका स्थानमा सबैभन्दा धेरै असरल्ल देखिएको छ ।

अव्यवस्थित तारका कारण सडक छेउका बटुवाको आँखा बिझाउने गरेको छ । लत्रेका तारमा अल्झेर कतिपय सडकमा पछारिएका पनि छन् । तर, सम्बन्धित निकाय रमिता हेरेर बसेको अर्थ लगाउन सकिन्छ । निजी टेलिभिजन च्यानल र इन्टरनेट प्रदायक कम्पनीहरुले शहरको सौन्दर्यता बिगारेको सर्वसाधारणहरुको पनि आरोप छ । 

तार कतिखेर आफूमाथि खस्ने हो भनेर डराउँदै हिँड्नुपर्ने बाध्यता शहरका सबैमा छ । व्यवस्थित रुपमा तार नटाँग्दा यसले मानव जीवनकासाथै शहरको शौन्दर्यमा पनि प्रत्यक्ष असर पारेको शहरी विकासविद्हरु बताउँछन् ।

सर्वसाधारणले बारम्बार तार व्यवस्थापनको कुरो उठाउँदै आएका छन् । विडम्बना उनीहरुको कुरा कसले सुन्ने ? पुतलीसडकका एक जना व्यापारीले आक्रोशित हुँदै भने,‘पोल सबै तारले भरिएको छ । कारणबशः आगजनी भयो भने यसको जिम्मेवार को ?’ 

पछिल्लो समय बजार क्षेत्रका एउटै घरमा दर्जनभन्दा बढी किसिमका तारको प्रयोग गरिएको पाइन्छ । यसले पनि तार व्यवस्थापनमा कठिनाइ भएको हो । सरकारले पटक पटक तार भूमिगतको सूचना जारी गरे पनि पूर्ण कार्यान्वयनमा आएको छैन । 

जमिनमुनिबाट तार लैजाने योजनाको एक खण्ड कार्य अघि बढ्न नपाउँदै काम बीचमै रोकिने गरेको छ । तारका कारण सडकमा आउजाउ गर्न सर्वसाधारणलाई मुश्किल पर्ने गरेको छ । सवारी साधन चलाउनेलाई पनि उत्तिकै महाभारत छ । 

विद्युत प्राधिकरणका सहनिर्देशक चुडामणि आचार्यले राजधानीमा रहेका अव्यवस्थित तार हटाउने काम भइरहेको बताए । प्राधिकरणले झण्डै डेढ महिनाअघि सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुलाई आआफ्नो कम्पनीको तार व्यवस्थित गर्न निर्देशन दिएको उनको भनाइ छ ।
तर, कम्पनीहरुले उक्त निर्देशनलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिएका छन् । सह–निर्देशक आचार्यले हाल काठमाडौंका विभिन्न स्थानमा टाँगिएको अव्यवस्थित तार हटाउने काम भइरहेको दाबी गरे । उनले तारलाई भूमिगत गर्ने प्रक्रिया पनि विस्तारै अघि बढ्ने जनाएका छन् । 

 सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थित गर्न ढिलासुस्ती गरेकाले समस्या समाधान नभएको प्राधिकरणको तर्क छ । ‘कम्पनीहरुको साथ र सहयोग नहुँदा तार हटाउन मुश्किल परेको हो,’ आचार्यले भने ।

राजधानीलाई सुन्दर र व्यवस्थित बनाउन लत्रिएका तारहरु हटाउन आवश्यक रहेको उनको पनि बुझाइ छ । प्राधिकरणद्वारा विभिन्न स्थानका अव्यवस्थित तारहरु हटाउने कार्य भइरहेकाले पूर्णरुपमा हटाउन धेरै समय लाग्ने बताइन्छ ।

टिप्पणीहरू