महानगरबासीलाई निःशुल्क भिडियो एक्स–रे सेवा
काठमाडौं महानगरपालिकाले आगामी सातादेखि निःशुल्क भिडियो एक्स–रे सेवा शुरु गर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा उक्त सेवा सञ्चालन गर्न लागिएको हो । पहिलो चरणमा वडा नम्बर १०, १२, १४, १९, २६ र ३० बाट सो सेवा दिइने महानगरले जनाएको छ ।
महानगरका अनुसार आइतबार र सोमबार वडा नम्बर १२, १९ र १४ का सेवाग्राहीलाई १२ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा दिइनेछ । वडा नम्बर १६, २६ र २७ का सेवाग्राहीका लागि मंगलबार र बुधबार वडा नम्बर २६ स्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा भिडियो एक्स-रे सेवा सञ्चालन गरिनेछ । बिहीबार र शुक्रबार वडा नम्बर १० र ३० का सेवाग्राहीलाई वडा नम्बर ३० को केन्द्रमा सो सेवा दिइनेछ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स–रे मेसिन जडान गरिसकेको महानगरले जानकारी दिएको छ । सेवाग्राहीको चाप बढ्दै गए सेवा विस्तार गर्ने महानगरको योजना छ ।
त्यस्तै, महानगरको स्वास्थ्य विभागले हरेक महिना स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गर्दैछ । वैशाखमा दृष्टि स्वास्थ्य सचेतना, जेठमा मुख तथा नाक, कान, घाँटी सचेतना, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता सचेतना, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान सचेतना, भदौमा उच्च रक्तचाप सचेतना, असोजमा मधुमेह तथा मोटोपना सचेतना कार्यक्रम गरिनेछ ।
त्यसैगरी, कात्तिकमा स्वास्थ्यकर र खानपान तथा आरोग्य जीवन सचेतना, मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोगसम्बन्धी सचेतना, पुसमा श्वासप्रश्वाससम्बन्धी रोगहरु तथा सूर्तीजन्य पदार्थहरु विरुद्धको सचेतना, माघमा मादक पदार्थ तथा सडक दुर्घटना सचेतना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य सचेतना र चैतमा मानसिक स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गरिने विभागको भनाइ छ ।
टिप्पणीहरू