छिमेकमा कोरोनाको बिगबिगी, यता सतर्कता अपनाउन आग्रह

छिमेकमा कोरोनाको बिगबिगी, यता सतर्कता अपनाउन आग्रह

केही दिनयता छिमेकी मुलुक चीन, भारतलगायत विभिन्न देशमा कोरोना संक्रमितको संख्या हवात्तै बढेको छ । कोरोनाको नयाँ भेरियन्ट देखिन थालेको छ । अन्य मुलुकमा संक्रमण बढ्नु र नयाँ भेरियन्ट देखिनुले नेपालमा चिन्ता बढाउनु स्वाभाविक हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयले अन्य मुलुकमा कोरोना भाइरसको संक्रमण बढेपछि जोगिन आग्रह गरेका छन् । दुवै निकायले सूचना जारी गर्दै कोरोनाबाट जोगिन सतर्क र सजगता अपनाउन भनेको छ । 

मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न तथा भीडभाडबाट बच्न मन्त्रालयले पुनः सचेत गराएको छ । यसअघि खोपको मात्रा छुटेकालाई अनिवार्य रुपमा खोप लगाउन र भौतिक दूरीको पालना गर्न पनि अनुरोध गरिएको छ । 

कोरोनाको असर र भयावह अवस्था यसअघि पूरै विश्वले देखेको मात्रै होइन, भोगिसकेको पनि छ । यसअघि अन्यत्रझैँ नेपालमा समेत कोरोनाले उग्र रुप लिएको थियो । हरेक मुलुकको आर्थिक तथा सामाजिक अवस्थालाई कोरोनाले बिथोलेको छ । त्यसपछि चलायमान हुन थालेको व्यापार व्यवसायमाथि पुनः कालो बादल मडारिएको छ ।

तीन वर्षअघि चीनको वुहान शहरबाट फैलिएको कोरोनाले महामारीको रुप लिएको हो । संक्रमणका कारण विश्वमा लाखौं मानिसले ज्यान गुमाए । कोरोनाले सबै उमेरकालाई असर पारेको छ ।नेपालमा समेत कोरोनाबाट हालसम्म १२ हजार बढीले ज्यान गुमाइसकेका छन् । यसले मानव स्वास्थ्यमा मात्र जटिल असर पारेको होइन, मानवसँग जोडिएका कैयौँ पक्षमा धेरै प्रभाव पारेको छ । 

कोरोनासँगै नेपालमा पहिलोपटक महिनौंसम्म लकडाउन गरिएको थियो । लकडाउनले विद्यार्थीहरुको अध्ययन र अध्यापनमा सबैभन्दा ठूलो असर पार्यो । आर्थिक, सामाजिक क्षेत्रहरु पनि उत्तिकै प्रभावित बने । केही महिना संक्रमण मत्थर भएपनि पटक पटक बल्झिरह्यो ।

नेपालमा संक्रमितको संख्या पछिल्लो केही महिनादेखि नियन्त्रणभित्रै छ । तर, खुल्ला सीमाना, न्यून परीक्षणका कारण पहिलेकै अवस्था निम्तिने हो कि भनेर विज्ञहरुले अनुमान गर्न थालिसकेका छन् । यता, कोरोना संक्रमणबाट जोगिन गर्नुपर्ने सरकारी तयारी भने सुस्त देखिन्छ । स्थानीय प्रशासन, स्थानीय सरकारमा कुनै वास्ता देखिँदैन । 

भारतसँगको खुल्ला सीमानामा सहज आवतजावत छ । क्वारेन्टाइनको व्यवस्थापनसमेत देखिँदैन । सबैतिर सतर्कता अपनाउन छाडिएको छ । राजधानी र शहरका चोकचोकमा अत्यधिक भीडभाड देखिन्छ तर मास्क लगाउनेको संख्या हातको औंलामा गन्न सकिन्छ ।

सार्वजनिक यातायात, स्थलहरुमा उत्तिकै मान्छेको भीड छ । भारतलगायत विभिन्न मुलुकबाट नेपाल भित्रिएकाहरुको कोरोना परीक्षण गर्न छाडिएको छ, रिपोर्टको कागजात पनि आवश्यक ठानिएको छैन । 

कोरोना संक्रमितको संख्या नेपालमा पछिल्लो समय कम हुँदै जाँदा सर्वसाधारणले यसबाट पर्न सक्ने घातक प्रभावबारे अहिले नै बिर्सिसकेका छन् । पछिल्ला दिनमा न हात धोइन्छ, न सामाजिक दूरीको पालना गरिएको छ । सरकारद्वरा कोरोना नियन्त्रणका लागि बनाइएका यसअघिका मापदण्ड कुनै पनि नागरिक र संघ संस्थाले पालना गरेको देखिँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटे पनि सर्तकता अपनाउन आवश्यक रहेको बताए । छिमेकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि मन्त्रालयले भारत–नेपालको सीमानामा कडाइ गरेको उनको दाबी छ । 

भारतलगायत विभिन्न मुलुकबाट नेपाल आउने यात्रुको नाका वा विमानस्थलमै कोरोना परीक्षण हुने, कोरोनाको लक्षण भएमा क्वारेन्टाइनमा राख्ने र सिकिस्त भएमा आइसीयूमा राखिने व्यवस्था यथावत रहेको उनी बताउँछन् । भाइरसको नयाँ भेरियन्ट नेपालमा हालसम्म देखा नपरेकाले पहिलो र दोस्रो खोप लगाएकाले बुस्टर खोप अनिवार्य रुपमा लगाउनुपर्नेमा उनको जोड छ । 

यसको रोकथामबारे समयमै सबै सचेत हुनुपर्ने उनी बताउँछन् । ‘नेपालमा पछिल्लो समय कोरोना संक्रमित कम देखिन थालेकाले सर्वसाधारणले कोरोनाविरुद्धको खोप लगाउन र कोरोनाबाट बच्न अपनाउनुपर्ने उपाय अवलम्बन गर्न छाडिसकेका छन् । यसबाट पुनः कोरोनाको जोखिम बढ्ने अवस्था छ’, उनले भने ।

टिप्पणीहरू