माओवादी अस्थिर,काँग्रेस व्यक्तिवादी -डा.शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रलाई अस्थिर राजनीतिक चरित्र भएको पार्टीको संज्ञा दिएका छन् । साथै उनले पाँचदलीय गठबन्धन टिकाउन नसकेकोमा निवर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि व्यक्तिवादी र मनोगत चिन्तन हावी भएको आरोप लगाएका छन् ।
संसदबाट नयाँ सरकारको नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अपेक्षित नभएको उनको निश्कर्ष छ । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि प्रचण्डको प्रधानमन्त्रीमा नियुक्तिलाई उनले सामान्यतयाः अराजनीतिक र अराजकताको पराकाष्ठा भनेर टिप्पणी गरेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाको बारेमा विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,‘संविधानको रक्षा र समृध्दिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन ? हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता,समर्थक,शुभेच्छुक लगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु ।’
काँग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय,प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका छन् । राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरक धार भएका दलहरूबीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद रहेको भन्दै पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानिएको परिणाम आज देखा परेको उनको भनाइ छ ।
‘गठबन्धन प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौं । एक वर्षदेखि अझ खासगरी कांग्रेसको चौधौं महाधिवेशनअघि र पछि नेपाली काँग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकौं घटना भए । यो निःसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी काँग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ,’ उनले भनेका छन् ।
संसदमा ठूलो पार्टी हुँदाहुँदै पनि काँग्रेसले पछिल्लो नियति भोग्नुपरेको सम्बन्धमा पार्टी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा हुने विश्वास दिलाएका छन् । काँग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेर केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आए पनि यसबाट निराश नहुने उनको भनाइ छ ।
उनले नेतृत्वलाई चुनौती दिँदै भनेका छन्,‘हामी सबैको परीक्षा शुरू भएको ठानी अब फेरि नयाँ ढंगले जनताबीच जानेछौं । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौं । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अन्य विकल्प छैन । सत्ता गुम्दैमा काँग्रेसको शक्ति गुमेको छैन ।’
टिप्पणीहरू