सन्चारकर्मी रविले किन लेखेका थिए अमेरिकी राजदूतलाई इमेल ?

सन्चारकर्मी रविले किन लेखेका थिए अमेरिकी राजदूतलाई इमेल ?

हिजो साँझदेखि उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा रहेका रवि लामिछानेले केही वर्षअघि अमेरिकी राजदूतलाई सोझै इमेल गरेको सन्दर्भ बाहिरिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको पब्लिक अफेयर्स (मिडिया) कार्यरत तत्कालीन नेपाली कर्मचारी मीना कैनीले लामिछानेको इमेलबारे ट्वीटरमार्फत उल्लेख गरेकी छन् । 

हाल राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका रवि त्यतिबेला भर्खर अमेरिकाबाट फर्केका थिए । सोही सन्दर्भलाई जोड्दै गृहमन्त्रीको जिम्मेवारीमा पुगेलगत्तै कैनीले लेखेकी छन्,‘नयाँ गृहमन्त्रीलाई म व्यक्तिगत रुपमा चिन्दिन तर एउटा प्रसंग याद आयो । कुनैबेला जब म अमेरिकी नियोगमा काम गर्दथेँ, राजदूतको कार्यालयबाट एक इमेल मेरोमा फरवार्ड गरियो ।’

राजदूतको कार्यालयले मेल फरवार्ड गर्दै कैनीलाई लेखेको थियो, ‘यो एक सञ्चारकर्मीबाट राजदूतलाई आएको भेट प्रस्ताव छ,के प्रयोजनका लागि हो बुझ्नु ।’ सामान्यतयाः कुनै पनि मुलुकमा सरकारीबाहेक सर्वसाधारणले विदेशी कूटनीतिक नियोगका प्रमुखसँग सोझै भेट्ने प्रस्ताव गर्दैनन् । नियोगका सम्बन्धित युनिटसँग भने फोन,इमेल तथा आवश्यकताअनुसार भेट गर्नुलाई सामान्य रुपमा लिइन्छ । 

लामिछानेले इमेलमा आफू अमेरिकन नागरिक भएको र अमेरिकामा आफ्नो धेरै व्यवसाय भएको सन्दर्भ जोडेको कैनीले लेखेकी छन् । उनले ट्वीटरमा उल्लेख गरिन्, ‘अमेरिकी नागरिक भएको र अमेरिकामा धेरै व्यवसाय भएकाले राजदूतसँग भेट्न खोजेका थिए । इमेलमा खासै एजेण्डा थिएन ।’ त्यसपछि दूतावासको प्रचलनअनुसार उनले लामिछानेलाई फोन गरेर सबै बेलिबिस्तार लगाइन् । कैनीले लामिछानेलाई आफूलाई राजदूतसङ्ग भेटको खास एजेन्डा  राख्न फोनमा अनुरोध गरेकी थिइन् ।

कैनीसँगको सम्वादमा लामिछानेले आफू नेपालीसँग भेट्न र कुरा गर्न इच्छुक नरहेको बताएका थिए । मीनाले त्यसबेलाको फोन सम्वाद उल्लेख गर्दै बताएकी छन्,‘सरले पहिले नै म नेपालीसँग भेट्न र कुरा गर्न चाहन्न भन्नुभयो । अनि मैले ल विदेशीसँग मात्रै कुरा गर्नुस् भनेर फोन राखिदिएँ ।’

त्यतिबेलाको सम्वादको निश्कर्ष निकाल्दै कैनी भन्छिन्,‘उहाँको नेपाल र नेपालीप्रतिको लगाव पछिल्ला केही वर्षमा मात्र उत्पत्ति भएका हुन् । गृहमन्त्रीका रुपमा उहाँलाई विदेशीसँग कुुरा गर्न गाह्रो हुँदैन अब ।" कैनी स्वयं काठमाण्डु पोस्टमा लामो समय कार्यरत पत्रकार हुन् ।

टिप्पणीहरू