हेटौंडामा हुने काँग्रेस निर्वाचनमा गाईजात्राको संकेत
नेपाली काँग्रेस,बागमती प्रदेश संसदीय दलको निर्वाचन भोलि हुँदैछ । तर माहौल संसदीय दलको नेताका तीव्र आकांक्षी इन्द्रबहादुर बानियाविरुद्ध बन्दै गएको बताइन्छ । उनले आफूनिकट भनिएका सबै प्रदेश सांसदलाई मतदानको क्रममा मोबाइल लैजान र मतदानपछि फोटो खिचेर देखाउन उर्दी जारी गरेपछि काँग्रेसभित्र असन्तोष उत्पन्न भएको हो । उनले मतपत्र पट्याउने संकेतसमेत सिकाएको बताइन्छ ।
बानियासँग भेटेर निस्केको हवाला दिँदै काँग्रेस स्रोतले उनले मतदानमा मतपत्र पट्याउने विभिन्न तरिका सिकाएको बतायो । तर फोटो खिच्नुपर्ने आग्रहको पार्टीभित्रै विरोध शुरु भएको छ । यसबीच उनले आफूलाई संस्थापन पक्ष र इतर दुबै पक्षको रुपमा प्रस्तुत गरेपछि काँग्रेस सभासदहरु रुष्ट बनेका हुन् । स्थानीय तह निर्वाचन यता बानियाले पार्टीभित्र अन्तरघात गर्दै आएको आरोप लागिरहेको छ । उनले आफ्नै पार्टीका उम्मेदवार हराएको,टिकट वितरणमा आफ्नालाई मात्र काखी च्यापेको आरोप चर्कंदै गएकाले उनको संसदीय दलको नेता बन्ने चाहनामाथि तुषारापातको सम्भावना बढेको छ ।
यसबीच उनले बागमती प्रदेशका सभासदहरुलाई स्वागत र सम्मान कार्यक्रम राख्नुले पनि अवस्था सहज नभएको अनुमान लगाउन सकिन्छ । संस्थापन पक्षका उपसभापति पूर्णबहादुर खड्का र इतर पक्षका डा.शेखर कोइराला दुबैको साखुल्य बन्न खोज्दा उनी सबैको नजरमा परेका हुन् । अहिले दुबै पक्षका प्रदेश सांसदले बानियाको विकल्प रोज्ने जनाएका छन् ।
विगतमा पैसाको खोलो बगाउँदा आफू अनुकूल चुनावी नतिजा आएको नजिरलाई उनले यस पटक पनि कार्यान्वयन गर्न खोजेको देखिन्छ । तर, नुवाकोटका अर्का ठेकेदार बहादुरसिंह लामा पनि उनलाई गतिलो ढंगले चुनौती दिने भन्दै उत्रिएकाले भोलि हेटौंडामा रमाइलो देख्न पाइने काँग्रेसीहरुको बुझाइ छ ।
टिप्पणीहरू