नयाँ सरकारमा एमालेले पाउला त ४६ प्रतिशत हिस्सा र ११ मन्त्री ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारलाई एमालेसहित सात दलको समर्थन छ । एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा,जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टी तथा अन्य तीन जना स्वतन्त्र सांसदले पनि दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेका छन् ।
यी सबैको गरेर कूल १ सय ६९ जना सांसदको समर्थन जुटेको छ । १० सीट रहेको जनता समाजवादी पार्टीको समेत आफूलाई समर्थन प्राप्त हुने माओवादी पार्टी र प्रधानमन्त्री स्वयमको विश्वास देखिन्छ । हालसम्मको अवस्थालाई हेर्दा २१ वटा मन्त्रालयलाई भागबण्डा गर्ने क्रममा सरकारको समर्थनमा एमालेको ४६ प्रतिशत योगदान देखिन्छ । सोही अनुपातमा उसले उपप्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय प्राप्त गर्ने सोझो हिसाब हुनसक्छ ।
तर सबैको भाग पुर्याउदा यो संख्या घटेर ७ र ५ हुनसक्छ । प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित माओवादीले ५ जना मन्त्री पाउने भएको छ । सरकारमा माओवादी सांसदको संख्याको योगदान १९ प्रतिशत निकालिएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको १२ प्रतिशत योगदानमा एक उपप्रधानसहित गृह मन्त्रालय र अन्य दुई वटा मन्त्रालय भाग परेको छ ।
सरकारमा राप्रपाका सांसदको ८ प्रतिशत योगदान भनिएको छ । त्यसको लागि दुई जना मन्त्री, जसपाको ७ प्रतिशत योगदानमा पनि दुई र जनमत तथा उन्मुक्तिको एक एक जना मन्त्री गरेर कूल २५ जनाको मन्त्रिमण्डल हुनसक्छ ।
यीमध्ये राप्रपाले तत्काल सरकारमा जाने चाहना राखेको छैन भने उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीलाई मुद्दा फिर्ता र जेलमुक्त नगरेसम्म मन्त्रिमण्डलमा सहभागी नहुने जानकारी दिएको छ ।
टिप्पणीहरू